काठमाडौँ । नेपाल प्रहरीले ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरेको छ । भिडियो सेयरिङ प्लाटफर्म, टिकटकमार्फत तथ्यहीन र भ्रामक सामग्री फैलाएको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ । पक्राउ परेकी युवती खोटाङ, हलेसीतुवाचुङ-६ की स्थायी बासिन्दा रहेको र हाल भक्तपुर बस्दै आएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार उनलाई जातीय तथा साम्प्रदायिक उत्तेजना फैलाउने आशंकामा पक्राउ गरेको जनाएको छ ।
ब्युरोका अनुसार बस्नेतले टिकटकमा नियोजित ढंगले तथ्यहीन र भ्रमपूर्ण सामग्री पोस्ट गर्दै प्रतिष्ठित व्यक्ति तथा संस्थामाथि लक्षित आक्षेप लगाएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले टिकटक लाइभमार्फत मधेशी समुदायलाई होच्याउने गरी बोलेको र उनका सामग्रीहरूबाट नकारात्मक धारणा फैलाउने तथा चरित्र हत्या गर्ने उद्देश्य देखिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार उनलाई तीन दिन थुनामा राखेर थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाकारी दिएको छ ।
उनलाई इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी भक्तपुरबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।














