काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि सुरू हुने जनआन्दोलन मा साथ माग्दै पत्र लेखेको छ । संयोजक सुवेदीले रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई पठाएको पत्रमा ुसंयुक्त जनआन्दोलनमा सहकार्यका लागि प्रस्तावु गरिएको उल्लेख छ।
‘संयुक्त जनआन्दोलन समितिले यही २०८२ साल जेठ १५ गतेदेखि संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्रको पुनस्थापनाका लागि देशव्यापी जनआन्दोलन प्रारम्भ गर्न लागेको जानकारी तपाईंलाई अवश्यै छ भन्ने विश्वास लिएको छु। वर्तमान राजनीतिक व्यवस्थाले नेपाली जनताको सुशासन, समृद्धि र राष्ट्रिय पहिचानका अपेक्षाहरू पूरा गर्न असफल भएको कुरा आज सबैमा स्पष्ट भइसकेको छ। धर्म, संस्कृति र मौलिक मूल्य–मान्यतामा आधारित हाम्रो सनातन पहिचान गम्भीर संकटमा पर्दै गएको छ,’ संयोजक सुवेदीले लेखेको पत्रमा उल्लेख छ, ‘तपाईंको पार्टीका सभापति रवि लामिछानेज्यूले पनि हालको व्यवस्था अन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शंका व्यक्त गर्नुभएको तथ्य सर्वविदित छ। राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलिय हस्तक्षेप र दलियकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा यस व्यवस्थाबाट तपाईंहरू पनि सन्तुष्ट हुनुहुन्न भन्ने हाम्रो बुझाइ छ।’














