Monday, October 19, 2026
Home समाज याङ्गोले काठमाडौंमा सुरु गर्‍यो राइड सेयरिङ सेवा

याङ्गोले काठमाडौंमा सुरु गर्‍यो राइड सेयरिङ सेवा

31

काठमाडौं : नेपाली बजारमा फेरि एक राइड सेयरिङ प्लाटफर्म थपिएको छ। विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपाली बजारमा पनि राइड सेयरिङ सेवा सुरु गरेको हो। उपाय, दोस्ती, ई ड्राइभ नेपाललगायत नेपाली कम्पनीसँग मिलेर याङ्गोले मंगलबारदेखि काठमाडौंमा परीक्षण राइड सेवा सुरु गरेको हो। नेपालमा यसअघि पठाओ र इन्ड्राइभलगायत दर्जन हाराहारी राइड सेयरिङ कम्पनी छन्। नेपाली राइड सेयरिङ बजारको धेरैजसो हिस्सा ओगटेका पठाओ र इन्ड्राइभ दुवै विदेशी कम्पनी हुन्। याङ्गो पनि दुबईमा आधारित विदेशी कम्पनी हो। याङ्गो राइडले यात्रुहरूलाई स्थानीय यातायात प्रदायकहरूसँग जोड्दै सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ। म्यापिङ, नेभिगेसन प्रणाली र स्मार्ट अर्डर वितरण एल्गोरिदमसहित प्रविधिहरू प्रयोग गरिएको एपले साझेदार चालकहरूलाई किफायती र यात्रुहरूको लागि सहज सेवा दिने याङ्गो राइडका प्रमुख व्यापार अधिकृत अदेनियी अदेबायोले बताए।

याङ्गो राइडले स्थानीय साझेदार र यातायात प्रदायकलाई एपमार्फत् यात्रुलाई सेवाहरू प्रदान गर्ने छ। यसले साझेदारहरूलाई उनीहरूको सेवा सञ्चालनमा डिजिटलाइज गर्दै दक्षता अभिवृद्धि गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ। याङ्गो राइडले स्थानीय ट्याक्सी व्यवसायीका लागि पारदर्शिता, दक्षता र मूल्य बढाउन डिजिटल लेखा प्रणाली, फ्लिट व्यवस्थापनलगायत कार्यहरू गर्ने दोस्ती राइड स्थानीय यातायात कम्पनीका संस्थापक उद्यमी जेनिश श्रेष्ठले बताए। याङ्गो राइडले प्रयोगकर्ताले राखेको गन्तव्य ठेगानाको आधारमा प्रत्येक यात्राको अनुमानित लागत स्वचालित रूपमा गणना गर्ने र हालका लागि नगदमा मात्र भुक्तानी गर्न सकिने छ। भविष्यमा अनलाइन भुक्तानी प्रणाली पनि ल्याउने कम्पनकिो योजना छ।
राइड–हेलिङ सेवामा यात्रु वा चालकको सुरक्षा नै पहिलो प्राथमिकता भएको कम्पनीले जनाएको छ। यसका लागि कम्पनीले २० भन्दा बढी सेफ्टी फिचरसमेत ल्याएको छ।