Sunday, September 20, 2026
Home अर्थ कसले भर्न पाउँछन् पियोर इनर्जीको आइपिओ ?

कसले भर्न पाउँछन् पियोर इनर्जीको आइपिओ ?

27

काठमाडौं । आज पियोर इनर्जी लिमिटेडलेदेखि आइपिओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेको हो। कम्पनीले जारी पुँजी ८० करोड रूपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित अर्थात् बाँके जिल्लाका स्थानीय बासिन्दाहरू लागि निष्कासन गरेको हो।

यसका साथै कम्पनीले जारी पुँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण सेयरको १० प्रतिशत १ लाख ४४ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो। सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतममा १६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजारीमा रहेका नेपालीहरूले अधिकतममा ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्नेछन्। दुवै समूहका लगानीकर्ताले उक्त आइपिओमा चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा स्थानीय बासिन्दाहरूको लागि निष्कासन मिति चैत २० गतेसम्म लम्बिनेछ। कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले आयोजना स्थल, नबिल बैंकका कोहलपुर र नेपालगञ्ज शाखा कार्यालय, लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगञ्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्युरोड नेपालगञ्ज र बिपी चोक शाखा कार्यालय तथा कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेत रोड नेपालगञ्ज र रिमझिम बजार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

बाँकेको रनियापुर गाउँपालिकामा कम्पनीले सोलारमाध्यमबाट २० मेगावाट विद्युत उत्पादन गर्ने गरी सञ्चालनमा ल्याएको छ।
कम्पनीले त्यहाँ जडान गरेको दुईवटा सोलार प्लान्टबाट १०–१० मेगावाट विद्युत उत्पादन भइरहेको छ।