पूर्व गृहमन्त्री लामिछानेलगायत विरूद्ध कास्की अदालतमा मुद्दा दर्ता

38

कास्की । सरकारी वकिल कार्यालय कास्कीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलगायत विरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। आइतबार सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गरेको हो।

जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माका अनुसार साढे ४ सय पेजको अभियोगपत्र दर्ता भएको छ। अहिले प्रमाणहरू रूजु गर्ने काम भइरहेको शर्माले जानकारी दिइन्। कति जना प्रतिवादी, कति बिगो रकम र कुन(कुन कसुर अनुसार दर्ता भएको हो भन्नेबारे दर्ताको प्रक्रिया सकिएपछि जानकारी गराइने उनले बताइन्।

सरकारी वकिल कार्यालयले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको आरोपमा रास्वपाका सभापति लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, जिबी राईका साझेदार रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङ लगायतविरूद्ध मुद्दा दर्ता गर्न लागेको हो। यसअघि शुक्रबार सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना आरोपमा जिबी राईसहित १९ जनाविरूद्ध थप अभियोग दर्ता गरेको थियो।

उनीविरूद्ध १० वर्षसम्म कैद र डेढ अर्ब असुल गर्न माग गरेको थियो। त्यतिबेला राईविरूद्ध मुद्दा दर्ता गरिएको भए पनि लामिछानेविरूद्ध भने मुद्दा दर्ता गरेको थिएन। सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु ९जिबी राई, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरूद्ध मुद्दा दर्ता गरिएको थियो।
यसअघि सरकारी वकिलको कार्यालयले उनीहरूलाई सहकारी ठगीको अभियोग मात्र लगाएर मुद्दा दायर गरेको थियो। उनीहरूमाथि संगठित अपराध र सम्पत्ति शुद्धिकरणको थप अभियोग दर्ता गरिएको थियो। त्यसैगरि पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरूङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरूङविरूद्ध मुद्दा दर्ता भएको हो।