भोलीदेखि यी जिल्लामा हुनेछ बाढीको जोखिम, सचेत रहन् आग्रह

83

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मनसुन विशेष मौसम बुलेटिन अनुसार
हाल मनसुन न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ र भोलिबाट उक्त रेखा नेपाल नजिक सर्ने सम्भावना देखिएको छ। यस प्रणालीको प्रभावले मिति २०८१-०४-२२ गते देखि मिति २०८१-०४-२३ गते सम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना भएकोले सतर्कताको लागि आज यस विशेष बुलेटिन जारी गरिएको छ।

मिति २०८१-०४-२२ गतेदेखि मिति २०८१-०४-२३ गते सम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ । जिल्लागत मनसुनी वर्षाको जोखिमको विवरण अनुसूची १ मा समावेश गरिएको छ।

तसर्थ, मिति २०८१-०४-२२ गतेदेखि मिति २०८१-०४-२३ गते सम्म भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।

यस मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ दैनिक रुपमा सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन र यस महाशाखाबाट जारी हुने तीन दिने मौसम बुलेटिन नियमित हेर्नुहुन अनुरोध छ ।