डोलेश्वर महादेवमा श्रावणी मेला सुरुः भक्तजनको घुइँचो

66

हेमराज ढकाल
भक्तपुर । भक्तपुरको प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा एक महिने श्रावणी मेला सुरु भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा रहेको यस मन्दिरमा भाद्र ६ गतेसम्म मेला लाग्ने गर्दछ । केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा विक्रम संवत २०६६ साल भदौ ६ गते केदारनाथको शिर घोषणा गरिएको थियो । दर्शनकालागि आउने भक्तजनहरुको लागि ट्राफिक प्रहरीको सहयोगमा यातायात, नेपाली सेनाको सहयोगमा स्वास्थ्य शिविर, अन्य संघसंस्थाको सहयोगमा खानेपानी लगायतको सहज व्यवस्थापन मिलाइएको छ ।

एक महिनाको अवधिमा लाखौं भक्तजनले दर्शन गर्ने र करिब एक करोड रुपैयाँ भेटि संकलन हुने अपेक्षा रहेको केदारनाथको शिर मानिएको डोलेश्वर महादेव संरक्षण तथा विकाश समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिएका छन् । ‘मेलाका लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरूको सहजताका लागि टोकन दिएर लाइन लगाउने गरेका छौं,’ अध्यक्ष बस्नेतले भने ।

मेलाको ३८ दिन नै स्थानीय गुरुहरूबाट नित्य पूजा, पाठ पारायण कार्य तथा विमला गंगा आरती हुनेछ । विगत केही वर्ष यता मन्दिरमा भारतीय दर्शनार्थीहरुको बाक्लो उपस्थिति रहेको छ । डोलेश्वर आउने भक्तजनको कारण यस वडामा धार्मीक पर्यटनको संख्यामा वृद्धि भएको र शिवल सर्किटलाई नगरपालिकाले महत्व दिएका साथ हेरको सूर्यविनाकय नगरपालिका वडा नं. ८ का अध्यक्ष पुष्पराज बस्नेतले बताए ।
मन्दिरमा छिमेकी देश भारतलगायत नेपालका विभिन्न स्थानबाट दर्शनार्थीहरु आउने गरेका छन् ।