‘आगो नियन्त्रण कसरी गर्ने?’ विद्यार्थीको माझमा एपीएफको ‘डेमो’

85

पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू सशस्त्र प्रहरी बलको विशेष टोलीसँगै अभ्यास गरिरहेका थिए। एक जना छात्रा बिरामी परेको अभिनय गर्दा अरू छात्राहरूको टोलीले ‘ब्लाङ्केट’ ओछ्याए, त्यसमा सुकेको बाँस राखेर पट्याएपछि ‘स्ट्रेचर’ तयार भयो। बिरामीलाई ‘स्ट्रेचर’ मा राखेर घुमाउँदा सशस्त्र प्रहरीको टोलीले बिरामीलाई उठाउने र पाइला चाल्ने तरीकाको बरेमा सिकाइरहेको थियो। यो दृश्य धेरै विद्यार्थीहरूले नियालिरहेका थिए किनकि दैनिक जीवनमा जुन कुनै बेला पनि यस्तो गर्नुपर्ने स्थिति आउन सक्छ।आपतकालिन अवस्थामा कसैको पनि उद्धार गरेर स्वास्थ्य संस्था वा सुरक्षित स्थानसम्म लैजान सिकाएपछि ए.पी.एफ.को टोलीले खाना पकाउन प्रयोग गरिने ‘एल.पी. ग्याँस’ का कारण घरमा हुन सक्ने आगलागी र त्यसको नियन्त्रणका बारेमा सिकायो। उद्धारकर्ताहरूको टोलीले ‘ग्याँस’ को ‘पाइप’ र ‘रेगुलेटर’ बाट ठुलो मुस्लोको रूपमा निस्किएको आगोलाई एक मात्रै औँलाको प्रयोगले नियन्त्रणमा लिएको देख्दा विद्यार्थीहरूले रमाइलो मानेर हेरे। आफ्नै दैनिकीसँग जोडिएको विषयवस्तु भएर पनि होला उद्धारकर्ताहरूले प्रयोग गरेर देखाएका तरिकाहरूलाई उनीहरूले अक्षरशः सम्झना गर्न प्रयास गरिरहेको देखिन्थ्यो।

ग्याँसबाट ह्वारह्वारती आगो बलिरहेको बेलामा एउटा सामान्य बाल्टिनको प्रयोगले तत्कालै आगो नियन्त्रणमा लिन सकिने सिकाई पनि विद्यार्थीका लागि आकर्षक थियो। घरमा प्रयोग भइरहेको ग्याँसमा आगो लागेको बेलामा प्रायः बाहिर भाग्ने र अरूलाई गुहार्ने गरेको मात्रै देखिन्छ। तर सशस्त्र प्रहरीले प्रयोगात्मक रूपमा देखाएपछि भाग्नुको सट्टा सुरक्षित तरिकाले एक्लैले आगो नियन्त्रणमा लिन सकिन्छ भन्नेमा आफूहरू ढुक्क भएको विद्यार्थीहरू बताउँदै थिए। चिसो तन्ना वा अन्य सूतीको कपडाले आगो बलिरहेको स्थानमा ढपक्कै ढाक्दा अक्सिजनको अभावमा आगो निभिहाल्ने तरिका पनि विद्यार्थीहरूले सिके।