भक्तपुर कलमसीको हत्या प्रकरण: स्थानीय दुई युवक पक्राउ

2126

भक्तपुर । काभ्रेपलान्चोक र भक्तपुरको सीमाना संगै जोडिएको (कलमसी) बनेपा नगरपालिका -१ स्थित घिमिरे गाउँमा आइतवार बिहान एक जना पुरुष मृत अवस्थामा भेटिए ।

आइतवार बिहान नग्न र घोप्टो परेको अवस्थामा फेला परेको शव सिन्धुलीको मरिण घर भै घिमिरे गाउँमा ज्यालामजदुरी गरी बस्ने पचपन्न वर्षीय दुधलाल थिङ्गको भएको भन्ने खुलेको काभ्रे प्रहरीका सूचना अधिकारी समेत रहेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन । मानिसको हत्या अभियोगमा दुईजना पक्राउ परेका छन् । काभ्रे प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ ।

शवको प्रकृती हेर्दा कर्तब्य ज्यान भन्ने खुल्न आएपछि अनुसन्धानमा रहेको प्रहरीले घटनाको १२ घन्टामै हत्या अभियोगमा दुई जनालाई समात्न सफल भएको छ । एकान्त स्थल र सीसीक्यामेरा नभएको हुँदा सादा पोशाकमा रहेका प्रहरीले अनुसन्धान अघि बढाएका डिएसपी श्रेष्ठले जानकारी दिए । अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयबाट प्रहरी निरीक्षक डा. नारायण ज्ञवालीको नेतृत्वमा तालिमप्राप्त कुकुर सहितसहित अनुसन्धान अघि बढाइएको उनले बताए ।

अनुसन्धानबाट हत्यामा संलग्न २ जनालाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले पुष्टि गरे । प्रकाउ पर्नेमा भक्तपुरको चाँगुनारायण ८ का २१ वर्षीय समिर राय र काभ्रेको बनेपा १ बस्ने २२ वर्षीय ईश्वर बिक रहेका छन् । उनीहरुले हत्यामा संलग्न हुँदा लगाएको कपडा लुकाएको समेत बरामद भएको प्रहरीको भनाइ छ । उनीहरुले हत्या गरेको स्वीकार गरेका डिएसपी श्रेष्ठले जानकारी दिएका छन ।

अभियुक्तहरु मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा थिङ्गसंग भेट भएको र सामान्य भनाभन हुँदा कुटपिट गरी लडाई ढुंगाले पछाडि टाउकोमा हानी फरार भएको खुल्न आएको डिएसपी श्रेष्ठले जनाएका छन् । हत्याको कारणबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।