Sunday, September 20, 2026
Home मनोरन्जन सर्वोत्कृष्ट फिल्म घोषणा नगरेपछि चलचित्र प्रकाशको टिम अदालतमा

सर्वोत्कृष्ट फिल्म घोषणा नगरेपछि चलचित्र प्रकाशको टिम अदालतमा

83

काठमाडौं : राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा नगर्ने निर्णयविरुद्ध फिल्म ‘प्रकाश’का लेखक र निर्देशकले बिहीबार उच्च अदालत पाटनमा रिट दायर गरेका छन्। राष्ट्रिय चलचित्र अवार्डमा कुनै पनि ‘सर्वोत्कृष्ट चलचित्र’ को विधा गायब पारिएको विषय अदालतमा पुगेको हो। फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको थलो जुम्लाको सिंजाका स्थानीय मीनराज आचार्यले रिट दायर गरेको आचार्यले जानकारी दिए।

अवार्डका लागि चलचित्र विकास बोर्डले बनाएको जुरीले सर्वोत्कृष्ट चलचित्रमा गत वर्षको बहुप्रशंसित फिल्म ‘प्रकाश’ लाई सिफारिस गरे पनि भदौ १२ गते राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वश्रेष्ठ फिल्मलाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो।सिफारिसमा परेर पनि अवार्ड पाउन नसकेपछि ‘प्रकाश’ का लेखक विकास सुवेदीले चलचित्र विकास बोर्डमा निवेदन दिएका थिए। विपक्षी बोर्डका पदाधिकारीले कानूनले दिएको भन्दा बढी अधिकार प्रयोग गरी निर्णायक समितिले सिफारिस गरेको चलचित्रलाई पुरस्कार प्रदान नगरी अधिकार दुरुपयोग गरेको निवेदनमा आरोप लगाइएको छ। रकाशले अवार्ड पाउनुपर्छ भन्ने आफ्नो भनाइ नरहे पनि सर्वोत्कृष्ट विधामा किन फिल्मलाई पुरस्कृत गरिएन भन्ने कारण सार्वजनिक गर्न मात्र पनि आफूहरूले माग गरेको लेखक सुवेदीले जानकारी दिए।