“बिग्रदो आर्थिक अवस्था देखौ बुझौ”

77

-राम शरण देउजा

मुलुकमा आर्थिक मन्दी चरम उत्सर्गमा छ । केही समय अघि बैंकहरुको सी डी रेसियो ९०% भन्दा माथी चढिसकेको थियो । हाल बैंकहरुमा लगानी योग्य रकम ४ खर्बको हाराहारीमा छ भन्ने सूनिन्छ । तर बजारमा ऋणको माग शून्य छ । बैकको ब्याजदर घट्नुको साटो बढदो छ । केही सहकारीहरुका संचालकहरुले डोपोजिट भएका रकमहरु अपचलन गरेर धरासायी बनाएका छन । भन्नू पर्दा समग्र बित्तीय क्षेत्र नै भद्रगोलको अबस्थामा छ ।

उद्योग र ब्यबसाय गर्नेहरु अलपत्र परेका छन । निर्माण ब्यबसायिहरुले भुक्तानी नपाएका कारण धेरै छेत्र प्रभाबित भएको छ । प्राय सबै उद्योग पसलहरु बिक्रिमा रहेको वा बन्द भइसकेका छन् । नयाँ ब्यबसाय गर्ने कुरा त परै जाओस भएको ब्यवसाय बेचेर पलायन हुन याँहा सबै बाध्य हुँदैछन । तर सम्बन्धित निकायहरु खै के मा ब्यस्त छन कुन्नी यता पट्टी पट्टकै ध्यान दिइरहेको देखिदैन । जग्गा कित्ताकाट खुल्नु नै सबै समस्याको समाधान हो भन्ने हामी सबैलाई लागेको छ । अब जग्गा खरिद बिक्री हुन्छ समस्या सबै समाप्त हुन्छ भन्ने भ्रममा हामी सबै रमाएका छौ ।

अरु केही भएको नदेखिए पनि आन्तरिक राजस्व कार्यालय निर्धारित राजस्व उठतिको लक्ष्य भेटाउन मरिहत्ते गरेको देखिदैछ, बैंकहरु रिकभरिको नाममा गुण्डै लागाएर भएपनि ब्याज र किस्ता उठाउन कम्मर कसेर लागेका छन, प्राय सबै युवा शिक्षा लिन वा जागीर खान बिदेश नै जान प्रयासरत देखिन्छ, कलेज र स्कूलमा विद्यार्थीको संख्या नपुगेर स्कुल कलेज मर्ज हुने र बन्द भइरहेको देखिन्छ, होटल र पर्यटन ब्यबसाय करिब करिब मृत छ, खाद्य सामाग्री एक महिनालाइ पुग्ने मौज्दात छैन, सबै कुरा परनिर्भर छ । रेमिट्यान्स केही बढेकोमा नाक फुलाएर बसेका छौ, बिदेश अध्ययनमा जाने बिध्यार्थिहरुले कति बिदेशी मुद्रा लगे भनेर पट्ट्कै चिन्ता गरिरहेका छैनौ ।

तर पनि हामी केहि भएकै छैन झै अनदेखा गरिरहेका छौ । अबुझ बनिरहेका छौ । कहिले सम्म हामी अनदेखा र अबुझ बनेर रहि रहने हो ? अब ढिला नगरौ यी सबै कुरा देखौ बुझौ र समाधानको प्रयत्न गरौ । नत्र परिणाम गम्भीर हुने देखिदैछ ।