काठमाडौं- ‘तपाईंको त्यहाँ के भएको?’ एक बिरामीले नर्स इन्दिरा अधिकारीको घाँटीतिर देखाउँदै सोधे। उनले ठट्यौलो पारामा जवाफ फर्काइन्, ‘ओहो ! तपाईंले हेर्ने बित्तिकै पो यहाँ यस्तो भएछ नि !’
बिरामीको यो प्रश्नले इन्दिराको मन चसक्क नभएको होइन तर हरेक कुरामा ठट्टा गर्ने इन्दिराको स्वभाव नै हो। इन्दिराको घाँटी र कान वरपरका छालामा सेता–सेता दाग छन्। जसलाई भिटिलिगो अर्थात् सेतो दुबी भनिन्छ। यही दुबीका कारण इन्दिराले धेरै पटक यस्ता प्रश्नको सामना गर्नुपरेको छ।
काठमाडौं- ‘तपाईंको त्यहाँ के भएको?’ एक बिरामीले नर्स इन्दिरा अधिकारीको घाँटीतिर देखाउँदै सोधे। उनले ठट्यौलो पारामा जवाफ फर्काइन्, ‘ओहो ! तपाईंले हेर्ने बित्तिकै पो यहाँ यस्तो भएछ नि !’
बिरामीको यो प्रश्नले इन्दिराको मन चसक्क नभएको होइन तर हरेक कुरामा ठट्टा गर्ने इन्दिराको स्वभाव नै हो। इन्दिराको घाँटी र कान वरपरका छालामा सेता–सेता दाग छन्। जसलाई भिटिलिगो अर्थात् सेतो दुबी भनिन्छ। यही दुबीका कारण इन्दिराले धेरै पटक यस्ता प्रश्नको सामना गर्नुपरेको छ। गोरखामा जन्मिएकी इन्दिरा एक दिन नुहाएर ऐना हेर्दै थिइन्। एक्कासि उनले आफ्नो कानको छेउको भागमा केही लागेको महसुस गरिन्। ऐनालाई नजिक ल्याएर हेर्दा कान पछाडि केही सेतो दाग थियो। केही चिज लागेको हो कि भनेर पुछ्न खोज्दा पनि दाग उस्तै रहिरह्यो। उनी कुदेर आमा भएको ठाउँमा पुगिन् र देखाइन्। आमाले कपाल पन्छाएर कान पछाडि र वरपरको भाग हेर्दा धेरैतिर छाला त्यस्तै भएको देखिन्।
त्यतिबेला इन्दिरा १४ वर्षकी थिइन्। परिवारले पनि उनको छालामा भएको परिवर्तन याद गरेको थिएन। त्यो घटनापछि आमाले नजिकका मान्छेहरूसँग सोधखोज गरिन्। फरकफरक मान्छेले त्यो समस्या कम गर्न धेरै सल्लाह दिए। कसैले फोटो धोएको पानी लगाउन भने त कसैले कुनै झारको लेप लगाउन। घरमा लगाएका केही औषधिले काम गरेन। पछि उनको परिवार नै चितवन बसाइँ सर्यो। चितवन पुगेपछि उनीहरूले अस्पतालमा पनि देखाए। तर औषधिले पनि समस्या निको नभएको इन्दिरा बताउँछिन्।
स्कुल पढ्दा साथीहरू, घरमा आउने आफन्तहरू र बाटोमा भेटिने अन्जान मानिसहरू सधैँ उनीतिर जिज्ञासु आँखाले हेर्थे। हेर्ने मात्रै होइन, सर्छ भन्ने डरले कति नजिक पर्नै चाहँदैनथे। स्कुलमा कोही एउटै बेन्चमा बस्न मानेनन् त कतिले होस्टेलको रुम सेयर गर्न खोजेनन्। तर उनीसँग प्रश्नहरूको सामना गर्नुको विकल्प थिएन। प्रश्नहरूको अगाडि त उनी चुपचाप बस्थिन् तर तिनै प्रश्नको जवाफ दिँदादिँदै थाकिसकेकी थिइन्।
आफ्नो छालामा भएको समस्याका कारण उनमा दिन प्रतिदिन आत्मविश्वास घट्दै थियो। कसैले केही भनिहाल्ने पो हो कि भन्ने डरले मन खाइरहेको थियो। नयाँ मान्छेसँग भेट्ने हिम्मत हुँदैनथ्यो। त्यही दुबीको दाग छोप्न उनले ढाडमा ट्याटु समेत खोपाइन्।
जब नर्सिङ पढेर चितवन मेडिकल कलेजमा काम गर्न थालिन्, इन्दिरालाई बिस्तारै आफ्नो समस्या सानो लाग्न थाल्यो। ‘हरेक दिन अस्पतालमा कति थरी समस्या लिएर बिरामीहरू आइपुग्नुहुन्थ्यो। बिरामीका अनेकौँ समस्या अगाडि त मेरो समस्या आफैंलाई सानो लाग्यो। त्यसपछि मैले बिस्तारै आफैँलाई स्वीकार्न थालेँ,’ उनले भनिन्।आफूलाई आफैँले स्वीकारे पनि उनलाई प्रश्नहरूले भने छाडेनन्। अस्पतालमा काम गर्दै गर्दा उपचारका लागि आएका कयौँ बिरामीले समस्याबारे सोध्थे। आजसम्म पनि उनी प्रश्नहरूकै परिधिमा बाँचिरहेकी छन्। ‘कुनै समय मलाई अरूले गर्ने प्रश्नले कति समस्या बनायो। अहिले पनि मान्छेहरूले सोध्न त सोधिरहनुहुन्छ तर मलाई वास्ता लाग्दैन। यति भनिरहँदा पनि कहिलेकाहीँ आफूलाई धेरै मन परेको कपडा लगाउन हिच्किचाउँछु। सोध्नेलाई सामान्य लागे पनि त्यही कुराले हामीलाई मानसिक रूपमा ट्रिगर गरिरहेको हुने रहेछ,’ उनले भनिन्।
०००
अघिल्लो वर्ष कलंकीका १७ वर्षीय सम्राट केसी (नाम परिवर्तन) ११ कक्षामा पढ्दै थिए। उनी एक दिन सन्चो छैन भनेर कलेज गएनन्। त्यसैगरी उनी अर्को दिन पनि कलेज जान खोजेनन्। ठ्याक्कै यही बिरामी भएको भन्ने पनि केही थिएन। उनकी आमा सन्तोषी (नाम परिवर्तन) ले छोरा दिन प्रतिदिन कोठामै बसिरहने र पढ्न मन नगरेको महसुस गरिरहेकी थिइन्। एक दिन आमाले कलेज किन नगएको भनेर सोध्दा सम्राट उल्टै आमासँग झोक्किए। उनको पढाइसन्तोषजनक नै थियो। न त कलेजबाट नै केही गुनासो आएको थियो। तर एक्कासि छोराले कलेज जान्न भनेपछि सन्तोषीले समस्या के हो पहिचान गर्न खोजिन्।धेरै सोधखोज गर्दा पनि सम्राट केही बोलेनन्। त्यसपछि सन्तोषी आफ्नो छोराका नजिकका साथीहरूको सम्पर्कमा पुगिन्।ाथीहरूसँगको कुराकानीमा कक्षाका केही साथीहरूले सम्राटको अनुहारमा आएको डण्डीफोरलाई लिएर खिसिट्युरी गरेको पत्तो लाग्यो। सन्तोषीले छोरालाई धेरै सम्झाउने कोसिस गरिन्। तर सम्राटले तनाव लिन छोडेनन्। त्यसपछि सन्तोषीले छोरालाई लिएर त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगिन्। चिकित्सकले सम्राटलाई केही लगाउने औषधि दिए अनि परामर्श पनि गरे। चिकित्सकले दिएको औषधिले उनको समस्या केही हदसम्म समाधान भयो। त्यसपछि उनी नियमित कलेज जान थाले। ‘यो उमेरमा डण्डीफोर आउनु सामान्य रहेछ भन्ने डाक्टरलाई भेटेपछि मात्रै बुझेँ। साथीहरूले अनेक नाम दिएर जिस्क्याउँदा अप्ठ्यारो लाग्थ्यो। आजकल सामान्य हुँदैछ,’ सम्राट भन्छन्।