Saturday, October 24, 2026
Home समाचार काभ्रे अदालत : लक्ष्य पूरा, आठ सय ७६ वर्ष कैद असुल

काभ्रे अदालत : लक्ष्य पूरा, आठ सय ७६ वर्ष कैद असुल

27

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्ला अदालतले आर्थिक वर्ष २०७९÷८० मा मुद्दा फर्छ्यौटको लक्ष्य पूरा गरेको छ। बितेको आवमा दुई हजार तीन सय १३ मुद्दा फर्छ्यौटको लक्ष्य लिएकामा दुई हजार तीन सय १४ मुद्दा फर्छ्यौट गरेको अदालतले जनाएको छ। ती मुद्दा फर्छ्यौट एवं कार्यान्वयनका क्रममा आठ सय ७६ वर्षको कैद असुल गरिएको छ। उक्त आवमा असुल गर्नुपर्ने दुई हजार एक सय ७० वर्ष आठ महिना कैदमध्ये आठ सय ७६ वर्षको कैद असुल भएको हो भने एक हजार दुई सय ९४ वर्ष आठ महिना कैद असुल गर्न बाँकी रहेको अदालतका श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिए। उनका अनुसार वार्षिक लक्ष्यमा दर्ता मुद्दाको संख्या तीन सय ४७ थान थप र फछ्र्यौटमा एक थान थप अर्थात् शतप्रतिशत पूरा भएको हो।उनले नयाँ दर्ता अनुमान एक हजार छ सय ३७ थानमा एक हजार नौ सय ८७ थान दर्ता भएका बताए। यस्तै दुई हजार तीन सय १३ थान फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा दुई हजार तीन सय १४ थान फछ्र्यौट भएको छ। जिम्मेवारी सरेका एक हजार पाँच सय ५५ थान र नयाँ दर्ता एक हजार नौ सय ८७ गरी कुल तीन हजार पाँच सय ४२ थान मुद्दाको लगत कायम भएको छ। अदालतले गत आवको अन्त्यसम्ममा तीन हजार एक सय ९२ थान मुद्दा अनुमान गरेको थियो। अदालतमा तीन इजलास छन्।

लक्ष्यभन्दा धेरै दर्ता र फछ्र्यौटमा शतप्रतिशत पूरा गरेका अदालतमा चालू वर्षका लागि एक हजार दुई सय २८ थान मुद्दाको जिम्मेवारी सरेको जनाइएको छ। अघिल्लो आवको तुलनामा जिम्मेवारी सरेको तीन सय २७ थान कम हो। कुल मुद्दाका आधारमा अदालतले ६५ दशमलव २४ प्रतिशत मुद्दा फछ्र्यौट गरेको श्रेस्तेदार घिमिरेले बताए। उनका अनुसार अघिल्लो आवबाट जिम्मेवारी सरेकामध्ये ८४ दशमलव ८८ प्रतिशत मुद्दा फैसला भएका छन् भने नयाँ दर्ता भएकाबाट ५४ दशमलव ७४ प्रतिशत फैसला भएका छन्। अदालतमा चार वर्ष नाघेका मुद्दाको संख्या तीन छन्। तीनदेखि चार वर्षभित्रका छ र दुईदेखि तीन वर्षभित्रका दुई गरी ११ थान मुद्दा पुराना छन्।