परिवारले स्वीकार गरेको समलिंगी जोडी

33

गत बुधबार सर्वोच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको बिहे दर्ता गर्न आदेश दियो। अदालतले यो समुदायका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्न भनेको छ।अदालतको यो आदेशसँगै समलिंगी (महिला-महिला र पुरूष-पुरूषबीचको) बिहे दर्ता हुने बाटो खुलेको छ। बिहे गर्ने समलिंगी जोडीहरूका लागि आगामी दिनमा अझ सहज कानुन बन्दै जाला। मोरङका २५ वर्षे रोशन भण्डारी र २३ वर्षे जीवन अधिकारी पनि भविष्यमा बिहे गर्न चाहन्छन्। उनीहरू प्रेममा छन्।’हामी एकअर्कालाई माया गर्छौं, प्रेम गर्छौं। बिहे गरेर सँगै जीवन बिताउन चाहन्छौं,’ रोशनले हामीसँग भिडिओ कलमा भने। कुराकानी क्रममा जीवन पनि सँगै थिए।उनीहरूको भेट भएको ६ वर्ष भयो। चिनजान ‘डेटिङ एप’ बाट भएको हो। जीवन भर्खर १७ वर्षका किशोर थिए। संकोच मान्दै उनले अर्कै नाममा एपमा खाता खोले। त्यहीँ उनको सम्पर्क रोशनसँग भयो। कुरा गर्दै जाँदा एकअर्काप्रति आकर्षण बढ्यो।

डेटिङ एपमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका अरू जोडीहरू पनि भेटिए। जीवनलाई आफू अरूभन्दा फरक छु भन्ने अनुमान थियो तर खास फरक के हो भन्ने प्रस्ट थिएन। त्यही एपमार्फत उनलाई आफू समलिंगी पुरूष हुँ भन्ने यकिन भयो। केही दिनपछि जीवनले रोशनलाई आफ्नो वास्तविक परिचय पनि दिए।उता रोशनलाई पनि आफू अरू केटा साथीभन्दा केही फरक छु जस्तो लाग्थ्यो। बाह्र कक्षाको पढाइ पूरा हुँदा पनि उनी अलमलमै थिए। एकपटक एक साथीमार्फत एउटी केटीसँग प्रेमको कुरा आयो। रोशनले केटीसँग प्रेम गर्ने कुरा सोच्नै सकेनन्।’केटीसँग प्रेम गर्ने कुरा आउँदा म त्यसो गर्न सक्दिनँ भन्ने भयो। यसपछि म फरक छु भन्ने यकिन भयो,’ रोशनले भने, ‘जीवनसँग भेट भएपछि भने समलिंगी रहेछु भन्ने प्रस्ट भयो।’यसरी डेटिङ एपबाट दुवै जना आफ्नो यौनिकताबारे प्रस्ट भए। एपमा कुरा हुँदाहुँदै आकर्षण प्रेममा बदलियो। उनीहरूले समलिंगी अवस्थाबारे इन्टरनेटमा खोजी गरेर पढे। समलिंगी सामान्य र प्राकृतिक अवस्था रहेछ, केटा–केटा र केटी–केटी पनि प्रेम गर्न सक्दा रहेछन् भन्ने थाहा पाएर ढुक्क भए। अनि भने उनीहरूले भेट्ने र आफूहरूबीचको प्रेम फस्टाउन दिने निधो गरेका हुन्।’हाम्रो चिनजान, भेट र प्रेम हुनुमा हामी खुसी छौं,’ उनीहरूले भने, ‘त्योभन्दा बढी खुसी हाम्रो परिवारबाट पाएको समर्थन र सहयोगले मिलेको छ।’समलिंगी बिहेले कानुनी मान्यता पाउने बाटो अहिले खुले पनि रोशन र जीवनको परिवारले उनीहरूलाई पहिल्यै स्वीकार गरिसकेको छ।