८३ वर्षमा सन्तान जन्माउने अभिनेता…..

30

बीबीसी । अहिले मानिसहरूले पाको उमेरमा पनि सन्तान जन्माएको देखिन्छ। बुवा बनेका केही मानिसको उमेर अलिक धेरै नै छ। केही साताअघि ८३ वर्ष अभिनेता अल पाचिनो र उनकी २९ वर्षीया प्रेमिका नूर अलफल्लाहको सन्तानको जन्म भयो। अल पाचिनो चौथो पटक पिता बनेका हुन्। ढिलो गरी सन्तान जन्माउने पुरुषको समूहमा विभिन्न पटक अल पाचिनोको सहअभिनेता बनेका रोबर्ट डे निरो पनि छन्। उनले गत महिना ७९ वर्षको उमेरमा आफू सातौँ सन्तानको बाबु बनेको कुरा पुष्टि गरेका थिए।

बढी उमेरमा सन्तान जन्माउने उनीहरू मात्र हैनन्। जीवनको उत्तरार्धमा कैयौँ पुरुष अभिनेता, सङ्गीतकर्मी र अमेरिकी राष्ट्रपतिहरूले समेत सन्तान जन्माएका छन्। सामान्यतया नयाँ बुवाहरूको औसत उमेर केही वर्षयता बढ्दै गएको तथ्याङ्कले देखाउँछ। अमेरिकामा सन् १९७२ र सन् २०१५ बीचमा बुवाको औसत उमेर ३.५ वर्षले बढेर ३०.९ वर्ष पुगेको छ। सन् २०१५ मा मेडिकल जर्नल ‘ह्यूमन रिप्रोडक्शन’मा प्रकाशित एक अध्ययनअनुसार आफ्ना सन्तान जन्मिँदा नौ प्रतिशत बुवाहरू कम्तीमा ४० वर्ष पुगेका थिए।गिनिस वर्ल्ड रेकर्ड्सका अनुसार सबैभन्दा ज्येष्ठ उमेरका बुवा ९२ वर्षका भए पनि अनौपचारिक दाबीमा कहिलेकाहीँ अन्य मानिसहरू समेत देखा परेका छन्।

यद्यपि पुरुषले पाको उमेरमा सन्तान जन्माउँदा  केही जोखिमहरू भने छन्।सन् २०२२ डिसेम्बरमा यूनिभर्सिटी अफ यूटा र अन्य संस्थाका अध्ययनकर्ताहरूले “उन्नत अभिभावकत्वको उमेर” बारे एउटा विस्तृत समीक्षा प्रकाशित गरेका थिए। त्यसमा बच्चा जन्माउने क्षमतामा पर्ने प्रभाव, गर्भावस्थामा हुने समस्या र बालबालिकाको स्वास्थ्यमा पर्ने असर केलाइएको छ।

अल पाचिनो र रोबर्ट

तस्बिर स्रोत, GETTY IMAGES

धेरैजसो अध्ययनले असामान्य भएको हुनाले अल पाचिनोको उमेरका धेरे मानिसलाई नसमेट्न सक्छन्।प्रमाणहरूले भने ४० वर्षदेखि नै मात्रा, सङ्ख्या, गतिशीलता र उत्परिवर्तनका हिसाबले शुक्रकीटको गुणस्तर कम भइसकेको हुन्छ।

ती परिवर्तनहरूको अर्थ पिता हुने उमेर बढी हुनु “बच्चा जन्माउने क्षमता कम हुनुसँग मात्र होइन, स्वाभाविक गर्भधारणपछि गर्भ खेर जाने उच्च जोखिमसँग पनि सम्बन्धित भएको” अध्ययनकर्ताहरूले लेखेका छन्।कैयौँ अध्ययनहरूले बढी उमेरका पुरुषबाट गर्भधारण हुँदा गर्भपतनको जोखिम उच्च हुने देखाएको बताएका छन्।त्यसपछि जन्मिने शिशुमा पनि रोगको जोखिम रहन्छ। सन् १९५० को दशकपछि थाहा भएअनुसार वृद्ध बुवाका सन्तानहरूमा ‘एकन्ड्रोप्लेज्या’ भनिने आनुवंशिक समस्या देखिने सम्भावना उच्च हुन्छ।

तर त्यसयता त्यसको अन्य अवस्थासँगको सम्बन्धबारे पनि थाहा भएको छ। यूटाका अध्ययनकर्ताहरूले लेखेका छन् : “बढ्दो रूपमा के कुरा स्पष्ट भइरहेको छ भने बढी उमेरमा गरिने विवाहजस्तै बढी उमेरमा सन्तान जन्माउनुको सम्बन्ध…सन्ततिहरूको कमजोर स्वास्थ्यसँग जोडिन सक्छ।”