काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले ०८४ सालको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले कुनै पनि पार्टीसँग तालमेल नगरी आगामी निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका हुन्।‘मिसन २०८४ उद्देश्य अनुरूप नेकपा(एमाले)लाई बलियो राष्ट्रिय शक्तिका रूपमा सुदृढ गर्ने र कसैसंग तालमेल नगरी पार्टीको एकल बहुमत प्राप्त गर्ने योजना अनुरूप पार्टी अघि बढेको छ। एक वर्षका लागि तय गरिएको कार्ययोजना र कार्य विभाजनको विशेष अर्थ र महत्व रहेको छ। सम्पूर्ण कमरेडहरूलाई पार्टी निर्णय र निर्देशन अनुरूप जिम्मेवारीलाई सिर्जनात्मक र प्रभावकारी रूपमा सम्पादन गर्न अनुरोध छ,’ उनले भनेका छन्।
केन्द्रीय कमिटीको पाँचौ बैठकको निर्णयको जगमा सचिवालयले गरेको कार्यविभाजनका आधारमा कामलाई प्रभाककारी ढंगले अघि बढाउने सन्दर्भमा केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको बताउँदै महासचिव पोखरेलले तोकिएको जिम्मेवारी निर्वाह गर्न इन्चार्जहरूलाई निर्देशन दिएका छन्। ‘केन्द्रीय कमिटीको पाँचौ बैठकको निर्णयको जगमा सचिवालयले गरेको कार्य विभाजनका आधारमा कामलाई प्रभावकारी ढंगले अघि वढाउने सन्दर्भमा केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ। त्यसले जिल्ला बाहिरबाट जानुहुने इन्चार्जलाई काममा अनुकुलता सिर्जना गर्ने तथा पालिका इन्चार्जहरूलाई पालिकाको कामको नेतृत्व गर्नका लागि संयन्त्र निर्माण गर्ने सन्दर्भमा योजना बनेको छ। अब यथासिघ्र तोकिएअनुसारको जिम्मेवारी हस्तान्तरण र बहन गर्नका लागि योजना बनाउनु पर्दछ,’ उनले भनेका छन्र














