सगरमाथा आरोहण आजदेखि सुरु

68

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतीक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले आज दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो खोलेर आरोहण खुलेको सन्देश दिएका छन् ।

‘सगरमाथा समिटसम्मको रुट फिक्सिङ सक्यो, दिउँसो १ बजेर ५२ मिनेटमा आठ जना शेर्पा र एक फोटोग्राफर चुचुरोमा पुगे’, कम्पनीका कार्यकारी निर्देशक दावा ग्याल्जे शेर्पाले राससलाई जानकारी दिए । अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको चौथो शिविरमा रहेकाले भोलि बिहानसम्म उल्लेख्य आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको उनको भनाइ छ । ‘इमाजिन नेपालको शेर्पाको टोलीले समिटसम्म बाटो खोलेको छ । भोलि मे १४ देखि २० तारिखसम्म सगरमाथाको मौसम राम्रो रहेकाले धेरै आरोही चुुचुरोमा पुग्नेछन्’, उनले भने ।

दावा ग्याल्जे शेर्पा दोलखा रोलवालिङका शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइड समेत छन् । रोप फिक्सिङ गर्ने समूहका अन्य सदस्यमा सोलुखुम्बु थामेका निमानुरु शेर्पा, लाक्पासोना शेर्पा, पासाङ निमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर ग्याल्जेन शेर्पा, दावा जङ्बु शेर्पा र सङ्खुवासभाका दीपेन गुरुङ रहेका छन् । ‘प्रतिकुल मौसमका कारण लामो समयदेखि रोप फिक्सिङको काम हुन सकेको थिए, आज मौसम अनुकुल भएसँगै डोरी टाँग्ने पूरा भएपछि आरोहणको सुरु भएको छ ।’ उनले धेरै आरोही सगरमाथाको चुचुरोतर्फ जाने तयारीमा रहेको जानकारी दिए।

यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपासमा आरोहणका लागि सयौँ सङ्ख्यामा आरोही यतिबेला प्रतीक्षारत छन् । उनीहरु मौसम अनुकूलताअनुसार सगरमाथाको शिखरतर्फ अघि बढ्नेछन् । आइसफल डाक्टरले यही वैशाख १० गते नै सगरमाथाको साउथ कोल ९चौथो शिविर०सम्म बाटो खुलाइसकेका थिए । मौसम अनुकूल भइदिएको भए वैशाख २१ गतेसगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदुषण नियन्त्रण समिति ९एसपिसिसी० ले बाटो बनाएको थियो ।