ख्वप अस्पताल फरक उद्देश्य लिएर संञ्चालित छः बिजुक्छेँ

41

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकद्वारा सञ्चालित ख्वप अस्पताल देशका सरकारी तथा निजी अस्पतालहरुभन्दा फरक उद्देश्य लिएर समुदायको हितको निम्ति समुदायबाटै सञ्चालन भएको जनताको अस्पताल भएको बताउनुभयो । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा कार्यरत नर्सहरुलाई मार्गनिर्देश गर्नुहुँदै का. रोहितले गरिब जनतालाई निजी अस्पतालमा गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य गर्न ख्वप अस्पतालको स्थापना भएको बताउँदै निजी अस्पतालहरुले स्वास्थ्य सेवालाई भन्दा नाफालाई बढी प्राथमिकतामा राख्ने बताउनुभयो ।

रोहितले चिकित्सक तथा नर्सहरुले नम्र भाषा र असल व्यवहारबाट बिरामीको सेवा गर्न सके बिरामीको मन जित्न सकिन्छ भन्दै अस्पतालको विरुद्ध हुने गतिविधिप्रति सजग भएर बस्नुपर्छ भन्नुभयो । उहाँले चिकित्सक र कर्मचारीहरुले आफ्नो पदीय दायित्वमात्र पूरा गर्ने नभई मन, वचन र कर्मबाट जनताको स्वार्थ भावनाले काम गर्न प्रेरित गर्नुभयो ।

पुँजीवादी समाजमा समाजवादी विचार र सिद्धान्तले काम गर्नु चुनौतीपूर्ण हुने बताउँदै उहाँले असल नियतबाट हुने काममा जनताको पनि साथ र सहयोग रहने हुँदा अस्पताल तथा अन्य संस्थामा हुने कामहरुको समय समयमा अनुगमन तथा निरीक्षण हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप अस्पतालबाट हुने सेवा विस्तारमा जनगुनासो कम हुने ढंगले चिकित्सक र कर्मचारीहरुले काम गर्नुपर्ने बताउनुभयो ।
ख्वप अस्पतालले गुणस्तरीय स्वास्थ्य उपचारको लागि थप स्वास्थ्य उपकरण र आवश्यक जनशक्ति जुटाउन अस्पताल व्यवस्थापन समिति प्रयासरत रहेको बताउँदै उहाँले बिरामीहरुलाई आफ्नै अभिभावकसरह सेवा प्रदान गर्न मार्गनिर्देश गर्नुभयो ।

अस्पतालमा कार्यरत स्टाफ नर्सहरुले ख्वप अस्पतालबाट प्रवाहित सेवा सुविधा र स्वास्थ्य बिमा कार्यक्रमबाट धेरै बिरामीहरु लाभान्वित भएको बताउँदै आगामी दिनहरुमा अस्पतालले थप सुविधाहरु प्रदान गर्दै जानुपर्ने सुझावहरु दिएका थिए ।