काठमाडौँ । भक्तपुरमा ८ रात ९ दिन मनाइने बिस्का(बिस्केट) जात्रा आज (सोमबार) बाट सुरु हुँदैछ । साँझ टौमढीस्थित पाँच तले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिन्छ।
काठ काठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँच तल्ले मन्दिर प्राङ्गणबाट माथिल्लो (थने) र तल्लो (क्वने) टोलका बासिन्दाले तानातान गर्दै जात्राको सुरुवात गर्छन् । रथ तान्नुअघि भैरवनाथको रथमा खड्ग, तरबार, निशान राख्ने विधान छ । रथको अगाडि पाँच र पछाडि चार वटा डोरी समातेर जात्रालुले तान्छन्।
जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। यसरी तानातान गर्ने क्रममा थानेतर्फ पहिला तानेर लान सके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ। त्यसैगरी पहिले क्वनेतर्फ तानेर लान सके टेखापुखुसम्म ल्याउने र त्यहाँबाट पुनः टौमढी हुँदै दत्तात्रेय पुर्याएर त्यहाँबाट फर्काई गःहिटीमा रथ पुर्याउने चलन छ।
जात्रामा रथ तान्ने परम्परागत रुट क्वनेतर्फ टौमढी, बुलुँचा, घट् खा, नासमना, मुलाखु, वंशगोपाल, तेखापुखुसम्म र थने (माथिल्लो टोल) तर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रेयसम्म लग्निन्छ। र तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ। उक्त बलिपुजाको मासु प्रसादका रूपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ।
जात्राकोे चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसीं (हात नभएको लिंगो) उभ्याइन्छ भने साँझपख: तान्त्रिक विधिपूर्वक दश कर्म विधान गरी ५५ हात लामो लिंगो भेलुखेलस्थित ल्योसिङ खेलमा उभ्याइन्छ।
लिंगो उभ्याउने जात्रा अर्को आकर्षण हो। पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिंगो उभ्याउने गरिन्छ। लिङ्गोको कोखामा झुन्ड्याइएका दुई ध्वजाहरूलाई वीरध्वजा र विश्व ध्वजा भनिन्छ। एक जोडी ध्वजाहरू फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने मान्यता छ। लिंगो उभ्याउन बाँधिएका आठ वटा डोरीलाई अष्टमातृकाको प्रतीक मानिन्छ। लिंगो उभ्याउने क्रममा नवदुर्गा देवगण उपस्थित हुन्छन्।













