मोरङ । विराटनगरमा बचतकर्ताको करिब १२ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा एक सहकारी संस्थाका तीन जना पक्राउ परेका छन्। विराटनगरस्थित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका क्षेत्रीय प्रबन्धकसहित संस्थाका उपाध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार सहकारी सञ्चालन गरी रकम ठगी गरेको आरोपमा क्षेत्रीय प्रबन्धक मन्दीप खवास, संस्थाकी उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई पक्राउ गरिएको हो।
संस्थाले बचतकर्ताहरुको १२ करोड ९ लाख ४ हजार ४ सय ८७ रूपैयाँ बराबरको रकम ठगी गरेको आरोप छ। गत फागुन १ गतेबाट कार्यालय बन्द भएपछि संस्थामा कार्यरत ८ जनाविरुद्ध बचतकर्ताहरुले प्रहरीमा जाहेरी दिएका थिए। पोखरेलका अनुसार हालसम्म ३ जना पक्राउ परेको र बाँकी ५ जनाको खोजी भइरहेको छ। केही महिनाअघि बचतकर्ताहरुले बचत गरेको रकम निकाल्ने क्रममा संस्थाले रकम उपलब्ध गराउन नसकेपछि समस्या बाहिरिएको थियो।