काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः उम्मेदवार भए हराएर पठाउने चितवन काँग्रेसले दाबी गरेको छ । नेपाली काँग्रेसका चितवन सभापति राजेश्वर खनालले चितवन-२ मा हुने उपनिर्वाचनमा रवि उम्मेदवार भए काँग्रेसका लागि सहज हुने बताए । नागरिकता र दोहोरो पासपोर्टको मुद्धा मतदाताले बुझिसकेको उनले बताए ।
नयाँ दल र रविको तरङ्गले मतदाता भ्रममा परेपनि उपनिर्वाचनमा उक्त भ्रम तोडिने खनालले दाबी गरे । काँग्रेस निकट चितवन–काठमाडौँ सम्पर्क समितिले गरेको पत्रकारसँगको भेटघाटमा उनले भने, ‘गठबन्धन गरे जितिहालिन्छ नि भन्ने काँग्रेसलाई भयो । कार्यकर्तामा हार्मोनी पनि हुन सकेन ।’
सभापति शेरबहादुर देउवालाई भेटेर चितवन–२ को उप निर्वाचनका बारेमा दुई दिन अघि छलफल गरेको उनले बताए । उम्मेदवारको आकाङ्क्षी आफू रहेपनि जिल्ला सभापति भएको हुँदा अघि सरेर दाबी गर्न नमिल्ने खनालले सुनाए । जुनसुकै व्यक्तिलाई टिकट दिएपनि पार्टीका आन्तरिक संरचनामा प्रतिस्पर्धा गरेकालाई उम्मेदवार बनाउन सभापतिलाई सुझाव दिएको उनले बताए ।














