सिटामोल खरिदबारे अनुसन्धान सुरु

37

काठमाडौँ । पारासिटामोल ट्याब्लेटलगायतका औषधि खरिदमा अनियमितता गरेको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजविराज नगरपालिकामाथि अनुसन्धान थालेको छ ।

आर्थिक वर्ष ०७६/७७ यताका तीन वर्षमा नगरपालिकाले खरिद गरेका औषधिमध्ये सिटामोलको खरिद मूल्य औषधि व्यवस्था विभागले तोकेको न्यूनतम खरिद मूल्यभन्दा धेरै राखिएको छ । केही औषधि जीएमपी (गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) प्रमाणित नभएका कम्पनीका छन् ।

अख्तियारको इटहरीस्थित कार्यालयले गत पुस ४ मा पत्र काटेर नगरपालिकालाई विभिन्न प्रश्न सोधेको थियो । आर्थिक वर्ष २०७६–७७ मा कति रकम विनियोजन गरी कुन प्रक्रियाबाट कति औषधि खरिद भयो भन्ने मुख्य प्रश्न छ ।

अख्तियारले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम १ (क) बमोजिम औषधि खरिद गरिएको छ/छैन, डब्लूएचओ सर्टिफाइड हुनुपर्ने औषधिको उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषय विज्ञबाट मुचुल्का उठाई औषधि व्यवस्थापन गरिएको होरहोइन भन्ने प्रश्न पनि गरेको थियो । खरिद गरिएका औषधि बिक्रीका लागि होरहोइन भन्नेदेखि कार्यालयबाट १६ लाख १५ हजार ३ सय ८० रुपैयाँको औषधि खरिद गरिएको हो वा होइन भन्ने प्रश्न पनि अख्तियारले सोधेको थियो ।