Friday, October 16, 2026
Home समाचार शिक्षक हत्या आरोपित दम्पती कारागार चलान

शिक्षक हत्या आरोपित दम्पती कारागार चलान

47

काठमाडौँ । बैतडीको पाटन नगरपालिका ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको आरोपमा एक दम्पतीलाई कारागार चलान गरिएको छ। कारागार चलान हुनेमा पुर्चाैडी नगरपालिका ३ का प्रजा बोहरा र उनकी श्रीमती बिमला बोहरा रहेका छन्।

दुवै जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । सुर्नया गाउँपालिका २ घर भएका ५५ वर्षीय शिक्षक विष्ट पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृत भेटिएका थिए। त्यसपछि शिक्षकको हत्यामा संलग्न रहेको भन्दै बोहरा दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

नियन्त्रणपश्चात् बोहरा दम्पतीले हत्या गरेको स्वीकारेपछि प्रहरीले पुस ७ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। श्रीकृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययन गरिरहेकी विमला छात्रावासमा बस्दै आएकी थिइन। उनका श्रीमान् पनि भेटघाटका लागि पाटन पुगेर छात्रावासमै बसेका थिए।

छात्रावासमै बस्दै आएका शिक्षक विष्टले पुस १ गते राति पौने १० बजे शौचालय गएकी विमलालाई अँगालो हाली दुर्व्यवहार गरेको श्रीमान् प्रजाले देखेको र त्यसपछि आक्रोशित भएका प्रजाले विष्टको छाती, मुखमा हिर्काउँदै छात्रावास बाहिर ल्याई पुर्पुरोमा ठोस वस्तु हिर्काउँदै हत्या गरेको प्रजाले प्रहरीसमक्ष बयान दिएका छन्।