काठमाडौं । चोरीको मोटरसाइकलसहित नियन्त्रणमा लिएका दुई जनालाई सवारी साधनसहित जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरमा बुझाएको छ । आज (आइतबार) ट्राफिक प्रहरीले जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरमा बुझाएको हो ।
रामेछापको दोरम्बा–५ घर भई हाल भक्तपुर बस्ने २२ वर्षीय रिदम बहादुर थापा मगर र सोही स्थान घर भई हाल काठमाण्डौं सुन्धारा बस्ने २१ वर्षीय प्रेम थापा मगरलाई चोरीको मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि उक्त परिसर बुझाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।
त्यस्तै धादिङको थाक्रे गाउँपालिका–७ घर भई हाल ललितपुरको ललितपुर महानगरपालिका–९ मंगलबजार बस्ने कञ्चन खत्रीले बागमती प्रदेश–०२–०१६ प ६०२९ नम्बरको पल्सर २२० सिसिको मोटरसाईकल हराएको भनि २०७९ असोज ६ गते निवेदन दर्ता गराएका थिए ।
सोही निवेदनको आधारमा खोजतलास गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरि बागमती प्रदेश–०२–०१९ प ९५६४ नम्बर प्रयोग गरी मोटरसाईकल चलाउँदै गर्दा हिजो अपरान्ह साढे ४ बजे ललितपुरको ताल्छिखेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
यस आर्थिक वर्षको मंसिर मसान्त सम्ममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएको १९४ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल, स्कुटर) खोजतलासका क्रममा फेला पारी सम्बन्धित धनीलाई हस्तान्त्रण गरिसकेको छ ।













