काठमाडौँ । उत्तर कोरियाले आइतबार थप दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि उत्तर कोरियाले थप क्षेीयास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
उत्तर कोरियाले गत महिना अहिलेसम्मकै अत्याधुनिक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणसहित अभूतपूर्व हतियार परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा यस वर्ष सैन्य तनाव ह्वात्तै बढेको छ ।
दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले उत्तर प्योङगान प्रान्तको तोङचाङ–री क्षेत्रबाट प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र पहिचान गरिएको पुष्टि गरेको हो ।
ती क्षेप्यास्त्रहरू स्थानीय समयअनुसार बिहान ११ः१३ देखि अपराह्न १२ः०५ बजेसम्म पूर्वी सागरमा प्रहार गरिएको थियो । जेसीएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रो सेनाले संयुक्त राज्य अमेरिकासँग नजिकबाट सहकार्य गर्दै निगरानी र सतर्कतालाई बलियो बनाएको छ ।”
जापानको रक्षा मन्त्रालयका अनुसार उक्त क्षेप्यास्त्र करिब ५०० किलोमिटरको उचाईमा पुगेको थियो ।
“यसले जापान, यस क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षालाई खतरामा पार्छ र यो बिल्कुलै अस्वीकार्य कार्य हो,” जापानका वरिष्ठ उपरक्षामन्त्री तोशिरो इनोले भने ।
उत्तर कोरियाले ‘हाई थ्रस्ट सोलिड फ्युल मोटर’ को परीक्षण गरेको केही दिनपछि आइतबार क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले यसलाई ‘अर्को नयाँ प्रकारको रणनीतिक हतियार प्रणालीको विकासका लागि’ महत्वपूर्ण परीक्षणका रूपमा व्याख्या गरेका छन् ।
आफ्नो हतियार कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद प्योङयाङले अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) निर्माण गरेको छ ।













