मुगु । मुगुको सदरमुकाममा लेखापाल नहुँदा विभिन्न योजनाका रकम भुक्तानी गर्नसमेत बाधा परेको छ । सदरमुकाम गमगढीस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट २ देखि ५ दिनको लागि लेखापाल पठाएर स्थायी कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता निकास गर्ने गरिएको छ ।
लेखापाल नभएकै कारण लामो समयदेखि कर्मचारीले तलब भत्ताबाट वञ्चित छन् । लेखापाल नभएकै कारण प्रशासनिक सेवाप्रवाहमा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ले बताए । उनका अनुसार धेरै गाउँपालिकाका अधिकांश विकास योजनाका मुद्दा अख्तियारमा उजुरी पर्ने गरेकाले यहाँ लेखापाल आउँन नमानेका हुन् ।
सोरु गाउँपालिकाबाट गत वर्ष मात्रै १७ वटा मुद्दा अख्तियारमा परेका थिए । ‘अख्तियारमा मुद्दा परेपछि सबैभन्दा धेरै तनाब लेखापाललाई नै हुन्छ,’ उनले भने, ‘अन्य आर्थिक कामकाजमा जनप्रतिनिधिले अनावश्यक दवाव दिने गरेका कारण पनि यहाँ लेखापाल आउँन मान्दैनन् ।’













