काठमाडाैँ । यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कुल आठ करोड तीन लाख ९४ हजार ५ सय मतपत्र छापिएको छ ।
यससँगै प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको मतपत्र छपाइको काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधि सभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ भएको छ ।
प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड ९९ लाख १८ हजार ५ सय र समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई मतपत्र छपाइको जिम्मा दिएको थियो ।