जिद्दी डाक्टरले बदले सरकारी अस्पताल

264

इनरुवा । कुनै बेला प्राथमिक उपचार गराउनसमेत बिरामी जान नचाहने अस्पतालमा यतिबेला सेवा लिनेको भीड हुने गरेको छ। जिल्ला अस्पताल सुनसरीले आफ्नो धुमलिँदो छविलाई सुधार्दै सेवा प्रवाहलाई प्राथमिकता दिएसँगै अस्पताल पुग्ने बिरामीको संख्या बढ्न थालेको हो।

जहाँ एकाबिहानै पूर्जा काटेर पालो पर्खनेको भीड थामी नसक्नु छ। पालो कुरेरै भएपनि उपचार गराउनेको संख्या दिनानुदिन बढ्दो छ। लामो समय स्वार्थगत राजनीति र आर्थिक अनियमितता बाहेक नचाहनेहरूको चङ्गोलबाट उम्कन नसकेको इनरुवा अस्पतालबाट यतिबेला भने सेवाग्राहीले परिवर्तनको अनुभुति गर्न पाएका छन्।

स्रोत साधनको उपलब्धताको आधारमा अस्पतालले २४ सै घण्टा विशेषज्ञ डाक्टर सहितको सेवा थालेसँगै अस्पतालप्रतिको आम सर्वसाधारणको धारणा समेत बदलिएको छ। अस्पतालको सेवाप्रति विश्वास जगाएको छ। जसको पछाडि एक जिद्दी डाक्टरको भूमिका अहम रहेको स्थानीयहरू बताउँछन्।

नाम बदनाम अनि गुमनाम बन्न पुगेको अवस्थाबीच कार्यक्षेत्र रोजेर आएका डाक्टर देवराज घिमिरेको जिद्दीपनले नै यतिबेला अस्पतालमा कायापलट भएको हो। डाक्टर घिमिरेको साथमा यतिबेला सारा गाउँ नै लागिपरेको बताउँछन् सञ्चारकर्मी राजेन्द्र पोखरेल। उनले डाक्टर घिमिरेले आफ्नो जिद्दीपना त्यागेको भए अस्पतालको दुरावस्था यतिबेला पनि रहिरहने जिकिर गरे।

उनले हरेक क्षेत्रमा सुधारको लागि हठी र सन्की मान्छेको आवश्यक पर्ने कुरा महसुस गरेको पनि बताए। अस्पतालमा बिरामीको चाप बढ्दै जानुमा अस्पताल सुविधा सम्पन्न हुँदै जानु र चिकित्सकको पर्याप्तता, सरल र सहज सेवा प्रवाह प्रमुख कारकका रूपमा हेरिएको छ। कुनै समय औष‍धी खरिदलगायत प्रशासनिक खर्च अपारदर्शीताजस्ता आर्थिक अनियमिततामा रुमल्लिएको अस्पतालले यतिबेला मासिक ५० लाख बढी आम्दानी गरिरहेको छ।

प्राथमिक उपचार गराउनसमेत बिरामीहरू जान नचाहने अस्पतालले यतिबेला इको, इसिजी, इन्डोस्कोपी, मुटु, हाडजोर्नी, स्त्री तथा प्रसूति, मानसिक रोग तथा दाँतको विशेषज्ञ सेवा लिनको लागि इनरुवा अस्पताल पुग्ने गरेका छन्। जसले अस्पतालप्रतिको विश्वसनीयता दर्शाएको सहजै अनुभूति गर्न सकिन्छ। जिल्ला अस्पताल सुनसरीका मेडिकल सुपरिटेन्डेन्ट डा.देवराज घिमिरे जिद्दी डाक्टरको रूपमा आफू चिनिए पनि आफूले स्वास्थ्य सेवा नागरिकले पाउनका लागि २४ सै घण्टा अस्पताल खुल्नुपर्ने माग गर्दै आएको बताए। सदरमुकाममा रहेको जिल्ला अस्पतालमा इनरुवावासी र जिल्लाका कोशी, हरिनगर, गढी, देवानगञ्ज, रामधुनी लगायतका क्षेत्रबाट बिरामीहरु उपचार गराउन आउने गरेका छन्।

अस्पतालले ब्लड बैंकसमेत सञ्चालनमा ल्याउन लागेको डाक्टर घिमिरेले बताए।