समाजवादीको सिङ्गो कमिटी एमालेमा

57

काभ्रे । नेकपा एमालेबाट विभाजन भएको नेकपा समाजबादीका नेता कार्यकर्ताहरु धमाधम पार्टीमा फिर्ता हुन थालेका छन् । नेकपा समाजबादीले गठवन्धनबाट उचित स्थान नपाउनु तथा पार्टी फुटाउँदाको उदेश्य अनुरुप पार्टी संचालन नहुनु लगायतका थुप्रै कारण देखाउँदै समाजबादीका नेता कार्यकर्ताहरु घर फर्किन थालेका हुन् ।

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्वर १२ को सिङ्गो कमिटी नै एमालेमा विलिन भएको घोषणा गरेको छ । सोहि वडामा नेकपा समाजबादीले ६ मतले एमालेका उम्मेदवारलाई पराजय गराउँदै वडा अध्यक्ष पदमा विजयी हासिल गरेको थियो ।

वडा अध्यक्ष बाहेक नेकपा समाजबादीका सबै नेता कार्यकर्ता एमालेमा फर्किएको घोषणा गरेका छन् । उक्त वडा स्थायी घर भएका नेकपा समाजबादीका जिल्ला अध्यक्ष बसुन्धरा हुमागाई प्रदेशमा कृषि मन्त्री छन् । उनले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ को २ बाट उम्मेदवार दिएर गठवन्धनका कारण फिर्ता लिएका थिए । यस अघि वडा नम्वर ११ बल्थलीको सिङ्गो कमिटी नै एमालेमा फर्किएको थियो ।

एमालेमा फर्किनेहरुमा जिल्ला कमिटी सदस्य लक्ष्मण कार्की, देवराज केसी, वडा कमिटी इन्चार्ज छेत्रबहादुर तामाङ, वडा कमिटी अध्यक्ष प्रल्हाद केसी, किसान महासंघ जिल्ला सदस्य उमेश हुमागाई, मनोज कार्की, प्रिया खत्री, दुर्गाबहादुर लामा, निमा लामा, रिना केसी, हरिप्रसाद हुमागाई, साङ्गे तामाङ, सोनाम सिंह तामाङ, नहकुल केसी, राजेन्द्र तामाङ र सुरेन्द्र केसी लगायत छन् ।