मानसिक यातना दिने दुई जना पक्राउ

68

काठमाडौँ । सामाजिक सञ्जाल प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको साइवर ब्युरो भोटाहिटीको टोलीले सामाजिक सञ्जाल भाइवर, इन्स्टाग्राममार्फत साथी बनाई महिला तथा नाबालिकालाई अश्लील भिडियो पठाएर मानसिक यातना, दुःख तथा हैरानी दिने भारतीय नागरिक १९ वर्षीय मोहम्मद रमिज राजा र ताप्लेजुङका ३२ वर्षीय जेम्स तामाङलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सामाजिक सञ्जालमार्फत साथी बनाई विभिन्न लोभलालच देखाई पीडित महिलालाई अश्लीलता प्रदर्शन गर्न लगाएर सामाजिक सञ्जालमार्फत प्रसारण गरिदिने भनी मानसिक यातना र दुःख हैरानी दिएकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका दुवै जनालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट पाँच/पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता रायले बताए।