काठमाडौं । पूर्व कार्यरत कर्मचारीहरू पारिश्रमिक नपाएको भन्दै जनता टेलिभिजन धर्ना दिएका छन् । श्रमजीवी–पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा टेलिभिजनको कार्यालयमै पुगेर गेट अगाडि धर्ना दिएका हुन् । आफ्नो पारिश्रमिक नपाएसम्म आन्दोलनका कार्यक्रम नरोकिने उनीहरुको भनाइ छ । जनता टेलिभिजनले लामो समय आश्वासन मात्रै दिएको तर तलब नदिएको भन्दै कर्मचारी आन्दोलित बनेका हुन् ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले अहिलेको २१ औं शताब्दीमा आएर पनि बौद्धिक शोषण गर्ने लाजमर्दो कुरा रहेको बताए । उनले टेलिभिजन व्यवस्थापनले बाँकी रहेको बक्यौता नदिएसम्म विभिन्न चरणको आन्दोलन गरिने समेत बताए । धर्ना कार्यक्रममा श्रमजीवी पत्रकार संघ, नेपालका महासचिव धनञ्जय बुढा, कानुनी सल्लाहकार विष्णुकुमार गिरी, राष्ट्रिय समाचार समितिका प्रकाश सिलवाल, लगायत एक दर्जन बढी पत्रकारहरूको सहभागिता थियो । नेपालका धेरै मिडियाका मालिकहरुले व्यापारीसंग समाचार मोलमोलाई गर्ने र धन कमाउने तर श्रमजीविलाई भने न्यून तलब त्यो पनि नदिने गर्दछन् ।













