भक्तपुर : सार्वजनिक सवारीसाधन नचल्दा चाँगुनारायण नगरपालिका–५ छालिङका नागरिकले सास्ती भोग्दैआएका छन्।कार्यालय जान होस् या व्यक्तिगत कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल हिँड्नुपर्छ। सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको पैदल यात्रा गर्नुपरेको हो। चाँगुनारायण–३, झौखेलका नागरिकलाई पनि सार्वजनिक यातायात प्रयोगका लागि भक्तपुर नगरको व्यासीसम्म पैदल आउनुपर्ने बाध्यता छ।
काठमाडौँ उपत्यकामा रहेको र राजधानीसँग जोडिएको नगरपालिका भए पनि चाँगुनारायणका वडा नं ३ र ५ मा सार्वजनिक यातायात सञ्चालन नहुँदा यहाँका नागरिकले दैनिक सास्ती भोग्दै आएका छन्। उनीहरूलाई जरुरी कामका लागि पनि घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता छ। सार्वजनिक यातायात सञ्चालन नहुँदा कोही बिरामी परे अस्पताल लैजानसमेत चर्को भाडा तिरेर सवारी साधन ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता छ।सार्वजनिक सवारी साधन नहुँदा विद्यार्थीलाई समयमा कक्षा भ्याउन हम्मेहम्मे पर्ने गरेको छ। किसानलाई आफ्नो बारीमा उत्पादन भएका तरकारी एवं बाली बजारसम्म लैजान समस्या परेको छ। विकासको क्षेत्रमा छलाङ मारे पनि झौखेलमा सार्वजनिक यातायात सञ्चालन नहुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको स्थानीय बताए।












