काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन्। नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले नेविसंघको स्थापना दिवसलाई सम्बोधन गर्दै भने, ‘गठबन्धन टुटाउने षड्यन्त्र भइसकेको छ। गठबन्धन हुनुअघि हाम्राे हालत कस्तो थियो। संविधान अनुसार एक्लै बहुमत कसैको आउँदैन। कसै न कसैसँग त मिल्न नै पर्छ।’पहिलाको निर्वाचनमा पार्टी अवस्थालाई हेरेर निर्णय गर्न नेता कार्यकर्तालाई उनले निर्देशन समेत दिए।
आफ्नै कार्यकर्ताप्रति आक्रोश व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन गरेर ओलीलाई हटाउनुपर्छ भने, हटायौँ। गठबन्धनलाई अगाडि बढाउनुपर्छ भन्नेमा म छु। सबै तपाईंहरुलाई दिनको लागि मात्रै कसैले पनि गठबन्धन गरेको त होइन नि ! उनीहरुले पनि केही त पाउन कै लागि गठबन्धन गरेका हुन्। कांग्रेस सबैभन्दा ठूलो पार्टी हो भनेर उनीहरुले त्यही अनुसारको दिन तयारै छन्। उनीहरुले पनि केही भाग खोज्नु उनीहरुको अधिकार नै हो नि!’
गठबन्धनका विषयमा तल्लो तहमा कांग्रेस कार्यकर्ताले नमान्ने अवस्था देखेपछि देउवाले आक्रोश पोखेका हुन्। कांग्रेसमा एक्लै लड्नुपर्ने आवाज नेता कार्यकर्ताले लगातार उठाइरहेकै छन्। गठबन्धन तोड्ने षड्यन्त्र भइरहेकाले त्यसका विरुद्ध सचेत भएर लाग्न आग्रह गरे। उनले नेता कार्यकर्तालाई गठबन्धन गरेर म प्रधानमन्त्री बन्दा अपराध भयो? भन्दै प्रश्न गरे। नेविसंघलाई बलियो भए मात्रै पार्टी संगठक बलियो हुने भएकाले गाउँगाउँमा गएर अरु पार्टीझैँ कमिटी गठन गर्न निर्देशन दिए।