दानवीर वडाअध्यक्ष तलब दिए विद्यालयलाई दान

136

भक्तपुर । जिल्लाको सूर्यविनायक नगरपालिका एक जना वडाअध्यक्षले आफुले प्राप्त गरेको तलब दिए विद्यालयलाई दान दिएका छन् । नगरपालिकाको वडा न. –८ का वडाध्यक्ष किरण थापामगरले आफू जननिर्वाचित भएपछिको पाँच वर्षे कार्यकालमा पाएको सेवा सुविधा तथा पारिश्रमिक विद्यालयलाई सहयोग गरेका छन् । वडाध्यक्ष थापामगरले आफ्ना स्वर्गीय हजुरबुबा जगत र बुबा भैरव थापामगरको नाममा ‘जगत भैरव प्रतिष्ठान’ नामक संस्था स्थापना गरी उक्त प्रतिष्ठान मार्फत सूर्यविनायक–८ नबाबुँ सिपाडोलमा अवस्थित गणेश माध्यमिक विद्यालयलाई १५ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

विद्यालय भवन शिलान्यास कार्यक्रमका अवसरमा वडाध्यक्ष थापामगरले जननिर्वाचित भएपछिको पाँच वर्षे कार्यकालमा पाएको सेवा सुविधा तथा पारिश्रमिकमा थपेर उक्त रकम हस्तान्तरण गरेका हुन् । प्रतिष्ठानले विद्यालयको भौतिक सुधार, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गर्ने र आर्थिक अभावका कारण विद्यालय जानबाट बञ्चित बालबालिकालाई सहयोग गर्ने वडाध्यक्ष थापामगरले बताए । ‘प्रतिष्ठान मार्फत १ करोड रुपैयाको अक्षयकोष स्थापना गर्ने लक्ष्य छ,’ उनले भने ।

उक्त प्रतिष्ठानलाई बिहीबार एक कार्यक्रमकाबीच वडाध्यक्ष थापामगरले सहयोग गरेको १५ लाख रुपैयाँ, निक भुजिकिक हाउजिङ प्रालिबाट १० लाख रुपैयाँ सहयोग र झ्यामो घ्याङ हाउजिङ प्रालिबाट १० लाख र प्रतिष्ठानका अध्यक्ष द्वारिकाप्रसाद सत्यालबाट १ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । प्रतिष्ठानलाई प्राप्त ३६ लाख रुपैयाँ नै सोहि समारोहमा विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई मार्फत बिहीबार २१ कोठे विद्यालय भवन निर्माणको शिलान्यास भएको हो । विद्यालय भवनको शिलान्यास पूर्वमन्त्री तथा प्रतिनिधिसभा सांसद महेश बस्नेतले गरे । सूर्यविनायक नगर उपप्रमुख जुना बस्नेतका अनुसार नगरक्षेत्र भित्रका ३९ विद्यालय मध्ये २०७२ वैशाखको भूकम्पपछि ३७ वटा विद्यालय पुनर्निर्माण भइसकेका छन् ।

६ करोड २६ लाख रुपैयाँ लागतमा निर्माण थालिएको विद्यालय भवन १४ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भएको विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष थापामगरले बताए ।
२०४२ स्थापित विद्यालय पाँच रोपनी क्षेत्रफलमा अत्याधुनिक २ वटा ३ तले भवन निर्माण गरिने योजना छ । सुविधायुक्त बालमैत्री तथा अपाङ मैत्री शैचालय, शुद्ध खानेपानीको व्यवस्था सहितको भवन बन्ने विद्यालयका प्रधानाध्यापक रवीन्द्र थापाले जानकारी दिए ।