बैशाख २६,
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको विषम परिस्थितिमा काम गर्न नसकेर सरकार पूर्ण रुपमा असफल भइसकेको आरोप लगाएका छन्। आजबाट सुरु भएको संसदको बर्खे अधिवेशनमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्। ुयस्तो विषम परिस्थितीमा काम गर्न सरकार पूर्णरुपमा असफल भएको छ। सरकारले नागरिकलाई अनूभूति गराउन सकेको छैन। स्वास्थ्य तथा सुरक्षाकर्मीहरुको व्यक्तिगत सुरक्षामा ध्यान दिएन,’ देउवाले भने, ‘परिक्षण दर कम भयो। परिक्षण सामाग्रीको विश्वसनीयतामा प्रश्न उठेको छ। विदेशमा विचल्लीमा परेका नागरिकको उद्धारमा कुनै योजना छैन। कोरोनाबाट असर गर्ने क्षेत्रको तत्कालीन र दीर्घकालीन रणनीति बनाउन सकेको छैन।’ उनले कोरोनाको कहरको बेला भ्रष्टाचार मौलाएको आरोप पनि लगाए। ‘यस्तो अत्यन्त विषम अवस्थामा भ्रष्टाचार हुनु, सरकार संविधानको भावना विपरीत क्रियाकलापमा व्यस्त हुनु, सांसदको अपहरण हुनु, घटना स्वीकार्य हुँदैन। सरकारले यी कुराका आधारमा नैतिक आधार गुमाएको ठहर गर्दछ।’ उनले आगामी आर्थिक वर्षको बजेट कोरोना केन्द्रित बनाउन पनि सरकारलाई सुझाव दिए। त्यस्तै संकटको बेला कांग्रेसले सरकारलाई सहयोग गरेको पनि उनले बताए।














