यस्तो छ, कोरोना संक्रमण रोक्न भक्तपुरका अस्पतालहरुको तयारी

121
सांकेतिक तस्विर

बैशाख १,
भक्तपुर । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै भक्तपुरका ८ वटा अस्पतालमा ९८ शैयाको आइसोलेसन वार्ड र २३ शैयाको आइसीयु तयार गरिएको छ । स्वास्थ्य कार्यालय भक्तपुरले जिल्लामा रहेका अस्पतालको अवस्था र तैयारी बारेमा बुझ्न अनुगमन थालेको छ । हाल भक्तपुर अस्पतालमा १० , नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ठिमीमा ६,मध्यपुर अस्पताल ठिमीमा प्रस्ताबित ८, काठमाडौं मेडिकल अस्पतालको दुवाकोट शाखामा ७२, डा. इवामुरा मेमोरियलमा ६ रहेको छ ।

त्यसैगरि नागरिक अस्पताल गठ्ठाघरमा ३ र सिद्धि स्मृति अस्पतालमा १ ,क्यान्सर अस्पताल दुधपाटीमा प्रस्ताबित ५ गरी ९८ शैयाको आइसोलेसन वार्ड तयार गरिएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताए । यसैगरी यिनै अस्पतालहरुको समन्वयमा थप २७ शैयाको आइसोलेसन वार्ड समेत बिस्तार गर्न सकिने अबस्था रहेको प्रमुख मिजारको भनाई छ । यिनै अस्पतालमा २३ शैयाको आइसीयु संचालनको तयारी अबस्थामा रहेको र बाँकी १६ शैया संचालनको लागि प्रस्ताबित अबस्थामा रहेका छन् ।
टोलीले पहिलो दिन कारोना संक्रमणको हव अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताल दुधपाटी, डा.ईवामुरा अस्पताल सल्लाघारी, सिद्धीस्मृति अस्पताल जगाती र केएमसी अस्पताल दुवाकोटको स्थलगत अनुगमन र सहजीकरण गरेको हो । आईसोलेस र आसीयु संचालन तथा तयारीको अबस्था र मापदण्ड तथा अस्पतालको दैनिक सेवाका बारेमा बुझ्न र सहजीकरण गर्न अनुगमन थालिएको मिजारले बताए ।

जिल्लाको हव अस्पतालको रुपमा रहेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले आवश्यकता परे सबै अस्पतालले आइसोलेसन शैया बढाउन सकिने गरी तयारी अघि बढाइएको जानकारी दिएकी छिन् । भक्तपुर अस्पतालले नै १९ शैयाको सिंगो मेडिकल वार्डलाई आइसोलेसन वार्डमा परिणत गर्ने गरी कार्य अघि बढाइएको डा.गौतमले बताइन् ।