कार्तिक ८, काठमाडौ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाले लाद्न खोजेको सर्वसत्तावादलाई रोक्ने बताउनु भएको छ । वित्तीय संस्था कर्मचारी संघले विजया दशमी,दिपावली र छठको अवसरमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा नेता पौडेलले नेकपाको सरकार सि पथको प्रशिक्षण र सबै निकायहरुमा अन्कुस लगाउने दुष्साहसबाटै भित्री इच्छा स्पष्ट भएको , लोकतन्त्रको खोल ओडि संविधान विपरीत आफु अनुकुल कानुनहरु निर्माण गरि सर्वसत्तावादको सपना देखिरहेको आरोप लगाउनु हुदै कांग्रेसले लोकतन्त्रको संरक्षणकालागी उभिने बताउनु भयो । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडले वर्तमान सरकारले संविधान विपरीत गुठी,प्रेस,राष्ट्रिय सुरक्षा , मानव अधिकार , सुचना प्रविधी लगायत विधेयकहरु ल्याएकोले कांग्रेसले रोकि रहेको बताउनु भयो । यसैगरी ट्रेड युनियन लगायतका संगठनहरुलाई अन्कुस लगाई निरंकुश लाद्न खोजेकोले लोकतन्त्रको संरक्षणकालागी शान्तिपुर्ण आन्दोलन गर्न तयार हुनु पर्ने बताउनु भयो । यसैगरी कांग्रेस नेता शेखर कोईरालाले अहिले लोकतन्त्र कमजोर अवस्थामा पुगेको र सत्ता कब्जा गर्ने नियतले सरकार अघि बढेको बताउनु भयो । कांग्रेस सचेतक पुष्पा भुसालले नेकपाबाट लोकतन्त्रमाथी खतरा रहेकोले संरक्षणकोलागी एक हुनु पर्ने बताउनु भयो । कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले नेकपाको सरकारले प्रेस,न्यायलय, व्यवस्थापिका लगायत संवैधानिक निकायहरुलाई कब्जामा लिई नेपालमा कम्युनिष्ट सत्ता निर्माण गर्न खोजे पनि त्यो पुरा हुन नदिने बताउनु भयो । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले वर्तमान नेकपाको सरकार श्रमिक अधिकार र ट्रेड युनियन अधिकार कुन्ठित गर्ने दिशातिर उन्मुख रहेकोले पेशागत अधिकारकालागी सडकमा उत्रिन तम्तयार रहेको बताउनु भयो । कार्यक्रममा युनि नेपालका अध्यक्ष शंकर लामिछाने, फियन वरिष्ठ उपाध्यक्ष धर्म खनाल लगायतले बोल्नु भएको थियो भने कार्यक्रम वितिय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मिको अध्यक्षतामा सम्पन्न भएको थियो ।