कार्तिक ६,
भक्तपुर । भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र–१ (क) बाट प्रदेश सभामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित हरिशरण लामिछानेको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदै छ । मंसिर १४ गते हुने उपनिर्वाचनको करिव १ महिना समय बाकीं भएपनि दलहरुले एकल उम्मेदवार भने छनोट गर्न सकिरहेका छैनन् । भक्तपुर क्षेत्र नम्वर १ (क) (चाँगुनारायण नगरपालिका सबै वडा र भक्तपुर नगरपालिका वडा नम्बर १०) मा उप निर्वाचन नजिकिदै गर्दा सबै दलमा निर्वाचनका आकाक्षी पनि दिन प्रतिदिन बढन थालेका छन् । कांग्रेसको बुधबार बसेको बैठकले उम्मेदवारीमा लागि जिल्लामा निवेदन दिएका १० जनाको नाम सिफारिस गरेको सभापति दुर्लभ थापाले बताए ।
प्रदेश सभाका लागि आकांक्षीहरुमा कृष्णलाल भँडेल, यादव प्रसाद अधिकारी, शुरेस श्रेष्ठ, विनोद प्रसाद कायस्थ, रुपा थापा, उद्धव खड्का, किरण न्यौपाने, मनोज कुमार थापा, हरी प्रसाद नेपाल र सुभद्रा काफ्लेको नामावली पार्टी केन्द्रमा पठाइएको जिल्ला सभापति थापाले जानकारी दिएका छन् ।
गत निर्वाचनमा जित हासिल गरेको नेकपा (तत्कालिन नेकपा एमाले)ले भने उम्मेदवार छनोट गर्ने तयारी थालेको छ । नेकपाका जिल्ला अध्यक्ष बचन देउजाका अनुसार पार्टी केन्द्रले भनेबमोजिम कार्तिक ९ गतेसम्ममा उम्मेदवार हुन चाहानेहरुको नाम सिफारिस गरेर पठाइने छ । भक्तपुरका चार स्थानीय तह मध्य तीनमा बिजय भएको नेकपामा उम्मेदवार हुन चाहानेहरु आधा दर्जन भन्दा धेरै छन् । मोहनवीर श्रेष्ठ, देवीप्रसाद ढकाल (डीपी), रामबहादुर श्रेष्ठ, शम्भु दाहाल, रमेश बुढाथोकी, दामोदर दंगालको नाम चर्चामा छ । नेपाली कांग्रेस र नेकपा दुई पार्टीका केन्द्रले नै तीन जनाको मात्र नाम पठाउन भने त्यो लागू गर्न पार्टीहरुलाई मुस्किल छ ।
नेपाल मजदुर किसान पार्टी, राप्रपालगायतका अन्य दलको पनि हाल सम्म आधिकारिक रुपमा उम्मेद्वारको नामावली सार्वजनिक गर्न सकेको छैनन् । यो प्रदेश निर्वाचन क्षेत्रमा ४५ हजार ३६ जना मतदाता रहेका छन् । निर्वाचन आयोगले १८ साउनभित्र दर्ता भइसकेका मतदाताले मात्रै उपनिर्वाचनमा मतदात गर्न पाउने जनाएको छ । सो क्षेत्रमा २१ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख घमचन्द्र तिम्सिनाले जानकारी दिएका छन् ।
अघिल्लो निर्वाचनमा नेकपाका स्वर्गीय हरिशरण लामिछाने १२ हजार सात सय ७९ मतसहित निर्वाचित भएका थिए । कांग्रेसका जीवन खत्रीले ९ हजार ९ सय ७७, नेमकिपाका निरज लवजुले ७ हजार ११ मत र तत्कानिल नेकपा माओवादी केन्द्रका उम्मेदवार देवीप्रसाद ढकालले ७ सय ८४ मत पाएका थिए ।