चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच भयो सहमति

157

असोज ४,
काठमाडौं । चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयमा शनिबार भएको वार्तामा सरकारले तोकेको भन्दा बढी शुल्क ३० दिनभित्र फिर्ता वा समायोजन गर्न मेडिकल कलेज सहमत भएपछि कलेज प्रशासन, विद्यार्थी र अभिभावकबीच सहमति जुटेको हो। शुल्क फिर्ता गर्ने कलेज सहत भएसँगै विगत लामो समयदेखि ठप्प रहेको पठनपाठन आइतबारबाटै सुचारु गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

यो सहमतिसँगै विद्यार्थीहरुको आन्दोलन तत्कालका लागि स्थगित भएको छ । प्रमुख जिल्ला अधिकारी बस्नेतको रोहवरमा भएको वार्तामा कलेजका प्रमुख हरिस न्यौपाने, प्रमुख प्रशासक प्रताप देवकोटा, आन्दोलनरत विद्यार्थी प्रकाश चन्दको नेतृत्वमा विद्यार्थीहरु र अभिभावकहरु सहभागि भएका थिए । मेडिकल कलेजले सरकारले तोकेको भन्दा १२ लाख बढी शुल्क अवैध रुपमा असुलेको भन्दै विद्यार्थीहरुले चरणवद्ध आन्दोलनमा गरिरहेका थिए । विद्यार्थी आन्दोलित बनेपछि विगत १९ दिनदेखि कलेजको पठनपाठन ठप्प रहेको थियो ।