को हुन ८७ वर्षकी चारूलता पटेल ? जसले विश्वकप क्रिकेटमा हुटिङ गरेर खिचिन् विश्वको ध्यान

230

एजेन्सी, असार १८,
काठमाडौं । जारी आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत मंगलबार बर्मिङघमको एजबेस्टनमका भारत र बंगलादेशबीच खेलका दौरान भारतीय टिमकी तिनै वृद्ध समर्थक चारूलताले सबैको ध्यान खिचिन्। भारत २८ रनले विजयी भएको खेलमा ८७ वर्षीय भारतीय समर्थकको खेलप्रतिको लगावको विषय अहिले सामाजिक सञ्जालमा चर्चित भएको छ। कतिपयले उनलाई ‘फ्यान अफ द टुर्नामेन्ट’ को संज्ञासमेत दिएका छन्। खेलमा भारतले बनाएको प्रत्येक रन र लिएको विकेटमा रमाइरहेकी ८७ वर्षीय चारूलतापटेलको जोसले सबैको ध्यान खिचेकी थिइन्। उनलाई क्यामेरले बेलाबेला कैद गरेको थियो भने आइसिसी उनको भिडियो अन्तर्वार्ता लिएको थियो।

त्यसक्रममा भारतीयका पूर्वकप्तान तथा क्रिकेट कमेन्टेटर सौरभ गांगुली र हर्ष भोग्लेले उनको चर्चा गरेका थिए। जब भारतले खेल जित्यो कप्तान विराट कोहली तथा ओपनिङ ब्याट्सम्यान रोहित शर्माले उनलाई भेट्न पुगेका थिए। त्यसक्रममा उनले दुवै खेलाडीलाई आशिर्वाद दिइरहेको भिडियो पनि आइसिसीले सोसल मिडियामा पोस्ट गरेको छ।

चारुलताले ह्विलचियरमा आएर दुवै खेलाडीलाई बधाई र आशिर्वाद दिएकी थिइन्। केहीपछि कप्तान कोहलीले ट्विटरमा उनीसँगको फोटो पोस्ट गरेर उनको खेल भावनाको प्रशंसा गरेका थिए। विराटले लेखेका थिए,‘हाम्रा सबै समर्थकको माया र समर्थनका लागि तथा विशेषगरी चारूलतापटेल जीको धन्यवाद दिन चाहान्छु। उहाँ ८७ वर्षको हुनुहुन्छ। सायद उहाँ सबैभन्दा भावुक र समर्पित समर्थक मध्येको एक हुनुहुन्छ।’ विराटको यो फोटो अहिले ‘पिक्चर अफ दि टुर्नामेन्ट’ भन्दै भाइरल भइरहेको छ।

८७ वर्षकी चारूलता पटेल

चारुलताले खेलपछि दिएको अन्तर्वार्तामा उनको जन्म भारत नभई तान्जानियामा भएको बताएकी छिन्।  तान्जानियामा जन्मिए पनि उनका मातापिता भने भारतका हुन्। उनले इंग्ल्यान्डको काउन्ट्री क्रिकेटमा आफ्ना सन्तानले खेलेको देखेर क्रिकेट मन पराउन थालेको बताएकी छिन्। त्यसैले उनले भारतीय टिमको  समर्थन गरेको बताइन्। चरुलताले इंग्ल्यान्डमा जारी विश्वकपको उपाधि भारतले जित्ने विश्वास गरेकी छिन्। उनले एक मिडियालाई दिएको अन्तर्वार्तामा भारतको जितका लागि गणेश भगवानसँग प्रार्थन गरिरहेको समेत बताइन्। सन् १९८३ मा भारतले पहिलो पटक विश्वकप जित्दा उनी इंग्ल्यान्डमै थिइन्।  तर त्यतिबेला भने उनले मैदानमा गएर खेल हेर्न पाइनन्। जागिरका कारणले विश्वकप मैदानमै गएर हेर्न नपाए पनि उनले टेलिभिजनमा भने हेरेकी थिइन्।  दुई दशकअघि जागिरबाट अवकाश पाएपछि भने चारूलता क्रिकेट हेर्न रंगशालामै पुग्ने गरेकी छन्।