जागरण अभियानको समीक्षा, देउवा भन्छन् ‘कमजोरी सच्याएर अभियान थप प्रभाबकारी बनाऊँ’

94

असार ११,
काठमाडौँ । नेपाली कांग्रेसले पहिलो चरणमा देशैभर भएको जागरण अभियानको समीक्षा सुरु गरेको छ। वैशाख २५ गतेदेखि एक महिनासम्म चलेको जागरण अभियानका क्रममा गाउँ पुगेका केन्द्रीय प्रतिनिधिले देखेका कुरा जस्ताको त्यस्तै सभापति शेरबहादुर देउवालाई सुनाउँदैछन्।

बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको गाउँका कुरा सुन्ने कार्यक्रममा जिल्ला खटेका केन्द्रीय प्रतिनिधिले पालैपालो बोलेका छन्। एक महिना गाउँ बसाइका क्रममा पार्टी संगठन, गुटउपगुट लगायतमा केन्द्रीय प्रतिनिधिले लिखित प्रतिवेदन नै तयार गरेका छन्।

पार्टी मुख्यालय सानेपामा शुरु भएको छलफल कार्यक्रममा सभापति शेरबहादुर देउवाले जागरण कार्यक्रमले पार्टीका कार्यकर्तामात्र नभई आम मानिसमा नयाँ उर्जा थपेको धारणा व्यक्त गरे।

सभापति देउवाले गाउँ–गाउँसम्म पुगेर पार्टीको विचार सम्प्रेषण गर्ने सबै केन्द्रीय प्रतिनिधिलाई धन्यवाद दिए। उनले जागरण अभियानका क्रममा प्राप्त सुझाव ग्रहण गरेर पार्टीलाई सुदृढ र थप गतिशील बनाउँदै अघि बढ्ने उनले प्रतिबद्धता जनाए। सभापति देउवाले पहिलो चरणको अभियानमा भएका कमी कमजारी सच्याएर दोस्रो र तेस्रो चरणको अभियान अझै प्रभावकारी बनाइने उल्लेख गरे।

पहिलो चरणको जागरण अभियान गत वैशाख २५ गते प्रारम्भ भई जेठ २५ मा सम्पन्न भएको थियो भने दोस्रो चरणको अभियान भदौ २४ गते बीपी जयन्तीको दिनमा शुरु भएर असोज ७ मा सम्पन्न गरिनेछ। यसैगरी, तेस्रो चरणको कार्यक्रम पुस ७ देखि पुस १६ गते मेलमिलाप दिवससम्म हुनेछ।

पहिलो चरणअन्तर्गत ७७ जिल्लामा कार्यक्रम सम्पन्न भयो भने दोस्रो चरणमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५३ स्थानीय तहमा जागरण अभियान सञ्चालन गरिनेछ ।

सबै प्रतिनिधिलाई १० मिनेटको समय दिइएको छ। बुधबार ४ बजेसम्ममा १७ जनाले आफ्नो धारणा राखिसकेका छन्। सबै जिल्लाका प्रतिनिधिको प्रस्तुतीपछि पार्टी पदाधिकारीले १० मिनेट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सबै प्रतिनिधिका धारणा राख्न कम्तिमा ३ दिन लाग्नेछ।