Monday, September 28, 2026
Home पत्रपत्रिका राजधानीका गौंडा–गौंडामा क्यामेरा, लागत ५ करोड

राजधानीका गौंडा–गौंडामा क्यामेरा, लागत ५ करोड

96

ईश्वरराज ढकाल ( नेपाल समाचारपत्र)
जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यकाका सबै शहरी स्थानमा सिसिटिभी जडान गरिने भएको छ । उपत्यकामा हाल सञ्चालनमा रहेका ५ सय ६९ सिसिटिभीबाहेक काठमाडौं महानगरपालिकाभित्र मात्रै थप १ सय ६१ वटा जडान गर्न लागिएको हो । अबको दुई महिनाभित्र काठमाडौैका सबै चोकमा सिसिटिभी जडान गर्ने योजना छ । महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी होबिन्द्र बोगटीले ती सिसिटिभी जडान भएपछि उपत्यकाको सुरक्षा व्यवस्था निगरानी गर्न सहज हुने बताउनुभयो ।

५ करोड ८१ लाख रुपियाँमा टेन्डर स्वीकृत भइसकेको जानकारी दिँदै कामपा प्रहरी प्रमुख डिएस्पी धनपति सापकोटाले महानगरपालिकाले छनोट गरेका ४२ बाहेकका अन्य स्थानमा प्रहरीले सिसिटिभी जडान गर्न लागेको बताउनुभयो । उहाँले थप्नुभयो– ‘करिब ३ महिना लामो अध्ययनपछि महानगर क्षेत्रमा सिसिटिभी जडान गर्ने स्थान पहिचान गरेका हौँ ।’
सापकोटाका अनुसार महानगरको नया बसपार्क, गोगबु, पुरानो बसपार्क, महाराजगंज, त्रिपुरेश्वर, चावहिल, नयाँ बानेश्वर पुरानो बानेश्वर, थापाथली, दरबारमार्ग गौशाला, कालोपुल, न्युरोड, शहिदगेट, पुतलीसडक, वागबजार, कलंकी, कालीमाटी, कुलेश्वर, न्युरोड, लैनचौर, कलंकी, वालुवाटार, विष्णुमती, धोविखोला करिडोर, पुल आसपास रिङरोड क्षेत्रलगायतका स्थानमा उक्त टिभी जडान गरिनेछ ।