Friday, September 18, 2026
Home पत्रपत्रिका जागरण अभियानमा नेतृत्वलाई कांग्रेस कार्यकर्ताको सुझाबः पहिला नेता जागृत बन्नुस्

जागरण अभियानमा नेतृत्वलाई कांग्रेस कार्यकर्ताको सुझाबः पहिला नेता जागृत बन्नुस्

107

रमेश सापकोटा (नयाँ पत्रिका दैनिक)
बैशाख ३१, काठमाडौं । संगठन सुदृढीकरण, आन्तरिक एकता र सरकारका गलत क्रियाकलापको भन्डाफोर गर्न ७७ वटै जिल्लामा जागरण अभियान चलाएको कांग्रेस नेतृत्वलाई पहिले आफैँ जागृत हुन कार्यकर्ताले सुझाब दिएका छन् । २५ वैशाखदेखि सबै जिल्लामा एकसाथ सुरु भएको जागरण अभियानका क्रममा कार्यकर्ताले नेतृत्व सुध्रिए मात्रै पार्टी सुध्रिने बताए । एक महिनासम्म चल्ने जागरण अभियानमा कांग्रेसले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ । अभियानभर छरितो भेला, सदस्यता वितरण व्यापक बनाउने, स्वदेश र विदेशका सबै तहमा बृहत्तर रूपले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कांग्रेसको योजना छ । संघर्षकालका ऐतिहासिक घटनास्थलहरूमा पुगेर ‘श्रद्धा र प्रेरणा’ कार्यक्रम गर्ने, पार्टीका पुराना अग्रजहरूलाई घरमै पुगेर सम्मान गर्ने, स्वास्थ्य स्थिति, घरायसी स्थिति बुझ्नुका साथै पार्टीका लागि आवश्यक सल्लाह र सुझाब लिने काम पनि अभियानका क्रममा गरिनेछन् । यस्तै, सरकारका गलत कामको भन्डाफोरलाई स्थानीय तहसम्मका नेता–कार्यकर्ता पंक्तिमा पुर्‍याउने गरी कांग्रेसका कार्यक्रम लक्षित छन् ।

जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूले केन्द्रको निर्देशनअनुसार जिल्लामा समन्वय गर्दै अभियानका कार्यक्रमलाई व्यवस्थित बनाउनुपर्नेछ । अभियानमा नेविसंघ, तरुण दल, महिला संघ, दलित संघसहितका सबै भ्रातृसंस्थालाई पनि सक्रिय हुन पार्टीले निर्देशन दिएको छ ।