श्रीलंकामा आतंककारी हमला गर्ने व्यक्ति बेलायतमा पढेको खुलासा

96

एजेन्सी, वैशाख ११,
काठमाडौं -श्रीलंकामा साढे तीन सय जनाभन्दा बढीको ज्यान जाने गरी भएको शृंखलाबद्ध आत्मघाती बम विष्फोटका हमलाकारी बेलायतमा अध्ययन गरेको खुलेको छ। श्रीलंकाका उप-रक्षामन्त्रीका अनुसार हमलाकारीमध्येका एक जना बेलायतमा अध्ययन गरेका थिए। हमलाकारीबारे थप अनुसन्धान भइरहेको उप-रक्षामन्त्री रुवान विजेवार्डेनेले बताएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै उप-रक्षामन्त्री विजेवार्डेनेले शंकास्पद हमलाकारीबारे जानकारी दिएका हुन्।

‘हाम्रो अनुसन्धानअनुसार हमलाकारीमध्येका एक जना बेलायतमा पढेको पाइएको छ,’ उनले भने, ‘बेलायतपछि पोस्टग्रयाजुएट गर्न अस्ट्रेलिया गएको र फेरि श्रीलंकै फर्केको पाइएको छ।’ विजेवार्डेनेका अनुसार अधिकांश हमलाकारीहरू उच्च शिक्षा लिएका छन् र मध्यम तथा उच्च मध्यम वर्गीय परिवारबाट आएका छन्। ‘उनीहरूलाई कुनै आर्थिक समस्या भएको देखिँदैन। उनीहरूका परिवार पनि राम्ररी जीविकोपार्जन गर्न सक्षम छन्,’ उनले भने।

आइतबार भएको श्रृंखलाबद्ध ८ बिस्फोटमा परी ३ सय ५९ जनाको मृत्य भएको छ भने पाँच सय बढी घाइते छन्। मृत्यु हुनेमा बेलायती, भारतीय र जापानी नागरिक पनि छन्। मंगलबार मात्र बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ। इस्लामिक स्टेटको समाचारसंस्था अमाकले मंगलबार जारी गरेको बुलेटिनमा आफ्ना लडाकुहरूले विष्फोट गराएको उल्लेख छ। उक्त बुलेटिनका अनुसार हमलाको निशाना क्रिश्चियन र विदेशीहरू थिए।

प्रधानमन्त्री रनिल विक्रेमेसिंगेले पनि यो हमलामा आइएसकै संलग्नता हुनसक्ने बताएका छन्। यो घटनामा ९ जना हमलाकारी भएको बताइएको छ जसमध्ये प्रहरीले ८ जनाको पहिचान गरिसकेको छ। यसमा एक जना महिला पनि रहेको बताइएको छ। र, समूहमा कोही पनि विदेशी नभएको अनुमान छ। सम्बन्धित अधिकारीहरूले बम बोकेर ल्याउने स्थानीय र आइएस समूहबीचको सम्बन्ध पनि अनुसन्धान गरिरहेको बताएका छन्। श्रीलंका सरकारले यसअघि हमलाको जिम्मेवार स्थानीय इस्लामिक समूह ‘नेसनल थोहिड जमाथ’ भएको अनुमान गरेको थियो।

उप-रक्षामन्त्रीले भनेका छन्, ‘यो हमला स्थानीय समूह र आइएसको सहकार्यबिना सम्भव छैन। स्थानीयबाट मात्रै पनि हुन सक्दैन, स्थानीयले पनि कुनै ठूलो सहयोगबिना गर्न सक्दैन। हमलाकारीहरू राम्रो तालिमप्राप्त छन् र उनीहरू सहकार्यमा निपूण देखिएका छन्। स्थानीय लडाकूमा यस्तो देखिएको थिएन।’
प्रहरीले हालसम्म घटनासँग संलग्न भएको आशंकामा ६० जना जतिलाई हिरासतमा लिएको छ। थप हमला हुनसक्ने भन्दै सुरक्षानिम्ति संकटकाल लगाइएको छ।

(बिबिसीको सहयोगमा)