जनताले अपेक्षा गरे अनुसारको काम गर्न सकेनौँ : अध्यक्ष दाहाल

108
पुष्पकमल दाहाल

फागुन १४
गोरखा -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दुई तिहाइको सरकारले जनताले अपेक्षा गरे अनुसारको काम गर्न नसकेको बताएका छन्। जनताले दुई तिहाइको सरकारले छिटोछिटो विकास निर्माणका काम र भ्रष्टाचार नियन्त्रण गर्ने अपेक्षा गरे पनि त्यसअनुसार सरकारले काम गर्न नसकेको गुनासो आएको बताए। चुनावका बेला मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ता पुर्‍याउने भने पनि त्यो पूरा गर्न नसकेकोमा दाहालले चिन्ता व्यक्त गरेका छन्। मंगलबार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा, अध्यक्ष दाहालले सरकारका कामप्रति जनगुनासो आउने गरेको बताए।

‘हामीले वृद्धभत्ता मासिक पाँच हजार पुर्‍याउँछौं भनेका थियौं। बाआमालाई विश्वास लागेको थियो। हामीले कस्सिएरै भनेका थियौं पुर्‍याइछाड्छौं भनेर,’ अध्यक्ष दाहालले भने, ‘यो पटक पुर्‍याउन सकिएन। त्यसकारण हाम्रा बाआमालाई त्यति मीठो लाग्या छैन।’ ‘जति छिटो विकास निर्माण होला। फटाफट काम होला। भ्रष्टहरूमाथि छिटोछिटो कारबाही होला। सुशासन होला भन्ने सोचेको हो त्यसो भएन भन्ने गुनासो छ,’ दाहालले भने, ‘अब बन्ने बजेटमा सुधार्छौं। यसबारे प्रधानमन्त्रीसँग कुराकानी पनि भइराखेको छ।’