अस्ट्रेलियाको बिग ब्याश क्रिकेटमा सन्दीपको टोली मेल्बर्न स्टार्स उपविजेता

95

एजेन्सी, फागुन ५,
काठमाडौँ- नेपाली बलर सन्दीप लामिछाने सहभागी मेल्बर्न स्टार्स, अस्ट्रेलियाको चर्चित व्यावसायिक क्रिकेट प्रतियोगिता बिग ब्याश लिगको उपविजेता बनेको छ। मेल्बर्न सहरका दुई क्लबबीच खेलिएको “मेल्बर्न डर्बी” फाइनलमा मेल्बर्न स्टार्सलाई मेल्बर्न रेनिगेड्सले १३ रनले पराजित गरेको हो। फाइनलमा सन्दीपले विकेट लिन नसकेपनि उनको कसिलो बलिङले विपक्षी ब्याट्सम्यानहरूलाई केही बाँध्न मद्दत पुगेको थियो। चार ओभर बलिङ गर्ने क्रममा ४ रनको औसतमा उनले १६ रनमात्र दिए। समग्रमा उनले प्रतियोगिताभरि ११ विकेट लिन सफल भएका छन्। टस जितेर पहिलो बलिङ रोजेको मेल्बर्न स्टार्सले प्रतिद्वन्द्वीलाई १ सय ४५ रनमा रोकेको थियो। रेनिगेड्सलाई शुरुवातदेखि नै रोक्ने क्रममा स्टार्सका बलरहरू एडम जाम्पा र ज्याकसन बर्डले २/२ विकेट लिए। रेनिगेड्सलाई उकास्नका निम्ति टम कुपर र डानियल क्रिस्टियनको भूमिका महत्त्वपूर्ण रह्यो। छेटौं विकेटका लागि यो जोडीले ८५ रनको अविजित साझेदारी गरेपछि टोलीले योग्य स्कोर बनायो। जवाफी ब्याटिङमा मेल्बर्न स्टार्स सुरुदेखि नै हावी देखियो। तर अन्तिम समयमा एकपछि अर्को खेलाडीहरू आउट भएका कारण टोलीले अनपेक्षित हार बेहोर्नुपर्‍यो।

बिग ब्याश लिगको यात्रा सकिएपछि सन्दीप अब पाकिस्तान सुपर लिग खेल्न जाँदैछन्। युएईमा हुने उक्त प्रतियोगितामा उनी लाहोर कलन्दर्सका तर्फबाट खेल्नेछन्।