१८ माघ,
काठमाडौ । तेश्रो पटक हृदयाघात भएपछि नर्भिक अन्तराष्ट्रिय अस्पताल भर्ना भएका पूर्वयुवराज पारस वीरविक्रम शाहको स्वास्थ्यमा सुधार आएको छ । उनी आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।
गम्भीर प्रकारको हृदयाघात भएपछि आइतबार दिउँसो साढे चार बजे पारसलाई नर्भिक अस्पताल पुर्याइएको थियो । उनको मुटुको कोरोनरी एञ्जियोप्लास्टी गरिनुका साथै स्टेन्ट राखिएको छ । हाल पारसको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनी सामान्य हिड्डुल गर्न सक्ने तथा बोलीचाली गर्न सक्ने अवस्थामा छन् । उनलाई सिसियुबाट अस्पतालको निजी क्याविनमा राखिएको छ ।
‘अहिलेसम्मको रिपोर्ट हेर्दा उनी मेडिकल्ली फिट भएकै कारण डिस्चार्ज गर्न लागिएको हो । अब उनले नियमित औषधि सेवन गर्नुका साथै जीवनशैलीमा उल्लेख्य सुधार गर्न जरुरी छ,’ अस्पताल स्रोतले भन्यो ।
खानपान तथा जीवनशैलीमा सुधार गर्नुका साथै नियमित औषधि सेवन गरे उनको स्वास्थ्यमा थप सुधार आउने चिकित्सकहरुको भनाइ छ । पारसलाई यही हप्ता अस्पतालले फलोअपमा बोलाएको छ ।
पारसलाई २०६३ सालमा पहिलोपटक हृदयाघात भएको थियो । त्यसपछि ०७२ सालमा दोश्रो पटक र गत आइतबार तेश्रो पटक हृदयाघात भएको हो । उनलाई पटक(पटक हृदयाघात हुनुमा गलत खानपान तथा वंशाणुगत कारण नै प्रमुख भएको उनको उपचारमा संलग्न चिकित्सक प्रा। डा। यादव देव भट्टले बताएका छन् ।
भट्टका अनुसार पटक पटकको हृदयाघातका कारण उनको मुटु निकै कमजोर भएको छ । जसका कारण उनले आफ्नो स्वास्थ्य प्रति निकै नै सजग हुनु पर्ने छ ।