असार १,
काठमाडौँ । केही समयअघि क्षेत्राधिकारको विषयलाई लिएर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र कृषि, भूमिसुधार तथा सहकारी मन्त्री चक्रपाणि खनालबीच मनमुटाव देखियो ।भएको के थियो भने मन्त्री पण्डितले मालपोत तथा नापी कार्यालयमा छड्के गरे । आफ्नो मन्त्रालयसँग सामन्य परामर्श पनि नगरी आफू मातहतका निकायमा सामान्य प्रशासन मन्त्रीले छड्के जाँच गरेपछि कृषि, भूमिसुधार तथा सहकारी मन्त्री, मन्त्रालयका सचिव र अन्य उच्च अधिकारीले असन्तुष्टि जनाए । दुई मन्त्रीबीचको तनाव मिडियामै आयो । त्यसपछि मन्त्री पण्डित छड्केमा निस्कन छाडे । केपी ओली नेतृत्वको सरकारमा क्षेत्राधिकारका विषयलाई लिएर दुई मन्त्रीबीच भएको यो पहिलो मुनमुटाव थियो । मन्त्री पण्डित र खनालबीचको मनमुटाव त हल भयो । तर यस्तै मनमुटावका अन्य घटना भने देखिन थालेका छन् । ढिलोचाँडो यो विषयले मन्त्रिपरिषद् वैठकमा प्रवेश पाउने सङ्केत पनि देखिएका छन् । निर्माण कार्यमा ढिलाइ गरिरहेका ठेकेदारहरूमाथि कारबाही गर्ने विषयमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच क्षेत्राधिकारलाई लिएर विवाद देखिन थालेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो मन्त्रालयको क्षेत्राधिकारमा हस्तक्षेप गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रधुवीर महासेठले असन्तुष्टि जनाएका छन् ।