जेठ ८,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रममा एक वर्षका कार्यक्रम नरहेको स्पष्ट पारेका छन् । उनले भने,‘यो नीति तथा कार्यक्रम वार्षिक कार्यक्रमको चरित्र कम ५÷१० वर्षे कार्यक्रमहरु देखिएको छ।’ मंगलबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले भने,‘सरकारको यो नीति तथा कार्यक्रम मुल चरित्रभन्दा बाहिरको छ, ५ वर्षका लक्ष्यहरु समावेश गरिएका छन्, तर लक्ष्य हाँसिल गर्ने आधारहरु छैन्।’
पूर्व अर्थमन्त्री समेत रहेका नेता महतले अहिलेको नीति तथा कार्यक्रमले ‘ड्रिमिङ् टार्गेट्स राखेको बताए । उनले थपे,‘तर कार्यान्वयनको योजना छैन, आगामी पाँच वर्षभित्र राष्ट्रिय आय दोब्बर बनाउँछौं भनिएको छ, त्यसको लागि वर्षमा १५ प्रतिशतको आर्थिक वृद्धि हुनुपर्छ, यो दुनियाँमै कहीँपनि भएको छैन, बढिमा भयो भने ७ देखि ८ प्रतिशतमात्रै हो।’
उनले नीति तथा कार्यक्रममा व्यवहारिक धरातलका लक्ष्यहरु समावेश नगरिएको गुनासो पोखे । उनले भने,‘१० वर्षभित्र मध्यम आय भएको मुलुक बनाउँछौं भनिएको छ, तर लक्ष्य हाँसिल गर्ने आधार खोई ? अहिले हामीलाई प्रशासनिक क्षमता अभिवृद्धिको आवश्यकत्ता छ, यति वर्षमा यो गर्छौ, उ गर्छौ भनिएको छ, यो नीति तथा कार्यक्रम स्वप्निल र महत्वकांक्षी लक्ष्यमात्रै हो।’














