– लक्ष्मी गारु
चैत २१,
भक्तपुर । भक्तपुरको लिच्छवीकालीन नवदुर्गा देवगणको ङा लाकेगु (माछा मार्ने) नाच काभ्रेको पनौतीमा अहिले प्रदर्शन भइरहेको छ । तान्त्रिक विधिबाट मानव शरीरमा देवत्व प्रतिष्ठा गरी नाचिने नवदुर्गा देवगणको जात्रा माघे संक्रान्तिको भोलिपल्ट भक्तपुरको सूर्यमढीबाट शुरु भई करीब साढे दुई महिना भक्तपुर नगरका २१ स्थानमा र त्यसपछि भक्तपुर बाहिरका काठमाडौँ बागेश्वरी, बनेपा, पनौती, साँखु, साँगा, श्रीखण्डपुर, टोखा, नालालगायत स्थानमा प्रदर्शन गरिन्छ । मुख्यतया नवदुर्गा देवगणमा बाजागाजासहित १९ जनाको समूह हुन्छ जसमध्ये १३ जना विभिन्न देवीदेवता हुन्छन् । नगदुर्गा देवगणमा पित्तलको सानो मन्दिर हुन्छ जसलाई सिफोद्यः भनिन्छ, जुन महालक्ष्मीको प्रतीक हो । नवदुर्गा देवगणमा भैरव ९कालभैरव० एक, महाकाली एक, बाराही एक, ब्रम्हायणी एक, महेश्वरी एक, कुमारी एक, वैष्णवी एक, इन्द्रायणी एक, गणेश एक, महादेव एक, श्वेतभैरव एक, सिम्ह दुम्ह ९नन्दी भृंगी० दुई गरी १३ वटा मुकुण्डोसहित नाच प्रदर्शन गरिन्छ भने खिं बाजा, ताः बाजा, कायँःबाजा, महापात्र र नकीं गरी १९ जनाको समूह हुन्छ । त्यसमा अन्य सहयोगीसमेत थप हुन्छ ।
विषेशगरी यो नाचमा धान रोपाइँ नाच, बाराही नाच, माछा मार्ने जात्रा, महाकाली नाच, श्वेत भैरवको गा त्वःकेगु -खास्टो लुट्ने- नाच, खास्टो फिर्ता लिने नाच, माछा मार्ने शिक्षा दिने नाच, श्वेत भैरबको पेट दुख्ने नाचः ९प्वाः स्याकिगु०, समापन नाच समावेश गरिएको हुन्न्छ । यी नाचहरु प्रदर्शन गर्दा गीतको बोल र बाजाको तालसँगै पारिवारिक रहनसहन, अभिभावकको भूमिका, चेलीबेटीको दुःख, कृषि कर्म, वैवाहिक कर्म, दाम्पत्य जीवनमा हुनुपर्ने सदाचार, नारी शक्ति, महिलाको शृंगार, केटाकेटीको चकचके र जिद्धीपना, माया प्रेम र हर्षोल्लासका भाव प्रस्तुत गरिन्छ । करीब ६ महिना नियमित रुपमा सञ्चालन गरिने यो नाच तान्त्रिक विधि मात्र नभएर मानवीय जीवनमा गरिने सबै संस्कार रहेको भावप्रधान नाच हो जसमा बोलेरभन्दा पनि निश्चित भाव संकेतद्वारा संवाद प्रस्तुत गरिन्छ । विषेशतः यो नाचले मल्लकालीन समयको संयुक्त परिवारलाई इंगित गर्ने इतिहासविद् एवम् संस्कृतिविद् प्रा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।
“नेवार समुदायमा झल्किने शक्तिशाली पारिवारिक अनुशरणको संकेत यो नाचमा प्रस्तुत गरिएको हुन्छ । घरमूली ९नंकी०को दायित्व र महत्वसँगै उनको भूमिकालाई हरेक दृष्टिले उच्च स्थानमा राखेको हुन्छ । यसमा नकींले १८ जना गण सदस्यलाई नवदुर्गा देवगृहमा भित्र्याउनेदेखि लिएर निष्काशन गर्ने सम्मको भूमिका निभाइन्छ,” उहाँले भन्नुभयो – “यस अर्थमा नेवार समुदायमा र संस्कारमा नंकी अर्थात महिला प्रधान भन्ने सन्देश पनि यसबाट पाइन्छ ।” यो जात्राले मल्लकालीन समयमा नेवार जनजीवनमा सबैसँग मिलेर बस्ने, संयुक्त परिवारमा बसी काम गर्ने भावना, ठूलालाई गरिने आदर सत्कार, सानालाई गर्ने माया, समाजिक मर्यादा, रीतिरिवाज, वेशभूषा, रहनसहन, खानपिन जस्ता पक्षलाई उतारेको पाइन्छ । यस्तो कठोर नियमलाई पालना गर्दै वनमाला समुदायले आजसम्म यसलाई जीवन्त राखेको छ । भक्तपुरमा प्रत्येक वर्ष नवदुर्गाको जन्मसँगै नेवार समुदायमा सुखद क्षण र उत्साह उमंग छाएको पाइन्छ । यसको अन्त्यसँगै भक्तपुरमा मात्र नभएर देशकै लागि विभिन्न कठिनाइको सामना गर्नुपर्छ । जस्तै घण्टाकर्ण चतुर्दशीमा उत्पत्ति हुने नवदुर्गा भगस्थीको दिन जलमा प्रवेश गरी समापन गरिन्छ । नेवार समुदायमा वर्षदिनका चाड घण्टाकर्णदेखि शुरु हुन्छ भने सिथी नखःमा समापन हुन्छ । भगस्थीमा देवगण जलमा समावेश भएपछि देशमा बाढीपहिरोको प्रकोप शुरु हुने, मानिसहरु आलस्य भई विभिन्न रोगबाट ग्रसित हुने देवगण नाइके ब्रिजेश वनमाला बताउनुहुन्छ ।














